२०८३ भदौ ३ , बुधबार

कर्णालीको मौलिक संस्कृति झल्काउने ‘खोली तिरैतिर’ तीज गीत रिलिज



सुर्खेत । कर्णाली प्रदेशको मौलिक कला, संस्कृति, परम्परा र जीवनशैलीलाई गीतमार्फत उजागर गर्ने उद्देश्यले तयार पारिएको तीज गीत ‘खोली तिरैतिर’ रिलिज भएको छ । कर्णालीको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, मौलिक भेषभूषा र सामाजिक परिवेशलाई गीत तथा नृत्यमार्फत प्रस्तुत गरिएको ‘खोली तिरैतिर’ तीज विशेष सिर्जनाका रूपमा दर्शकमाझ आएकाे छ ।

कर्णालीको संस्कृति र पहिचानलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा जानकी पुन मगर, समीक्षा सुनार, दिप्ती शर्मा, कुसुम खनाल र करिष्मा सिंह ठकुरीको प्रस्तुति रहेको छ । तीजको मौलिकता र कर्णालीको सांस्कृतिक रंगलाई नृत्य तथा अभिनयमार्फत प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ । गीतको लय खेमराज गौतमले तयार गरेका हुन् भने गीतकार डिनी क्षेत्री हुन् ।

गीतको निर्देशन तथा कोरियोग्राफी चन्द्र मन्दिरले गरेका छन् । त्यस्तै, गीतको छायांकन तथा सम्पादन निर्मल प्याकुरेलले गरेका छन् । गीतकार डिनी क्षेत्रीका अनुसार ‘खोली तिरैतिर’ कर्णालीको माटो, संस्कृति र यहाँको जीवनशैलीलाई गीतमार्फत चिनाउने प्रयास हो । तीजका गीतमा देखिने परम्परागत भावनालाई कर्णालीको मौलिक परिवेशसँग जोडेर गीत तयार गरिएको उनले बताए ।

‘कर्णालीको आफ्नै भाषा, भेषभूषा, रहनसहन र सांस्कृतिक पहिचान छ, त्यसलाई गीतमार्फत उजागर गर्ने प्रयास गरेका छौँ,’ क्षेत्रीले भने ।  लयकार खेमराज गौतमले कर्णालीको मौलिक स्वादलाई संगीतमा उतार्ने प्रयास गरिएको बताए । उनका अनुसार गीतमा तीजको उत्साहसँगै कर्णालीको स्थानीयपन र सांस्कृतिक मौलिकतालाई प्राथमिकता दिइएको छ ।

गीत सुन्दा कर्णालीको परिवेश र यहाँको सांस्कृतिक अनुभूति गर्न सकिने गरी संगीत तयार गरिएको उनको भनाइ छ । छायांकन तथा सम्पादन गरेका निर्मल प्याकुरेलले गीतको दृश्य निर्माणमा पनि कर्णालीकै पहिचानलाई प्राथमिकता दिइएको बताए ।  कर्णालीको भूगोल, स्थानीय परिवेश, भेषभूषा र सांस्कृतिक पक्षलाई दृश्यमा समेटेर गीतलाई श्रव्यसँगै दृश्यात्मक रूपमा पनि प्रभावकारी बनाउने प्रयास गरिएको उनले जानकारी दिए ।

निर्माण पक्षका अनुसार ‘खोली तिरैतिर’ केवल तीज गीत नभई कर्णालीको सांस्कृतिक पहिचानलाई राष्ट्रिय दर्शकमाझ पुर्‍याउने प्रयास हो । मौलिक संस्कृति र परम्परा पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न यस्ता सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तीजको अवसरमा सार्वजनिक हुन लागेको ‘खोली तिरैतिर’ ले कर्णालीको मौलिक कला, संस्कृति र पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार