२०८३ साउन २९ , शुक्रबार

पदक जितेको चार वर्षपछि पाए १ सय ५० जना खेलाडीले पुरस्कार



सुर्खेत । कर्णाली प्रदेशबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीले चार वर्षदेखि रोकिएको पुरस्कार रकम एकमुष्ट पाएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले अन्तर्राष्ट्रिय, राष्ट्रिय, राष्ट्रपति रनिङ शिल्ड तथा अन्तरप्रदेश खेलकुद प्रतियोगितामा पदक जितेका करिब १ सय ५० खेलाडीलाई पुरस्कार वितरण गरेको हो ।

परिषद्का लेखा अधिकृत लबविक्रम शाहका अनुसार विगत चार वर्षदेखि वितरण हुन नसकेको पुरस्कार रकम यसपटक एकमुष्ट रूपमा उपलब्ध गराइएको हो । परिषद्ले प्रदेश सरकारले तोकेको मापदण्डका आधारमा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेतालाई २ लाख ५० हजार, रजतलाई २ लाख र कास्य पदक विजेतालाई ७५ हजार रुपैयाँ तथा एसियाली खेलकुदमा कास्य पदक विजेतालाई १ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउने व्यवस्था छ ।

यसपटक सबैभन्दा बढी पुरस्कार कराँते खेलाडी एलिसा रास्कोटीले प्राप्त गरेकी छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका पदकबापत एकमुष्ट ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाएकी हुन् ।

त्यस्तै कराँतेकी प्रियंका शाहीले ३ लाख ५ हजार, उसुका दीपक हमालले १ लाख ५० हजार, कराँतेकी कृतिका कटुवालले १ लाख २७ हजार, दीपक विकले ५० हजार तथा कबड्डीकी बिनिता पण्डित क्षेत्रीले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । क्रिकेटलगायत अन्य खेलका पदक विजेता खेलाडीले पनि आफूले प्राप्त गरेको पदकका आधारमा पुरस्कार पाएका छन् ।

पुरस्कार पाउनेमा १४औँ, १५औँ र १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताका पदक विजेतासमेत छन् ।
परिषद्का सदस्य सचिव रविन्द्र चन्दले चार वर्षको पुरस्कार एकैपटक वितरण भएकाले यसपटक रकम केही ठूलो देखिएको बताए । उनका अनुसार यसपटक पुरस्कारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

“चार वर्षको पुरस्कार एकैपटक दिँदा धेरै रकम देखिएको हो। चालु आर्थिक वर्षदेखि यस्तो अवस्था हुँदैन, सदस्य सचिव चन्दले भने, “अब खेलाडीले प्राप्त गरेको पदकअनुसार समयमै पुरस्कार पाउने व्यवस्था मिलाउँछौँ ।

परिषद्ले पुरस्कारबाट छुटेका खेलाडीलाई आगामी पुरस्कार वितरणसँगै सम्मान गर्ने जनाएको छ । लामो समयदेखि रोकिएको पुरस्कार रकम पाएपछि पदक विजेता खेलाडीलाई थप उत्साह मिल्ने तथा आगामी प्रतियोगितामा राम्रो प्रदर्शन गर्न प्रोत्साहन पुग्ने परिषद्को अपेक्षा छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार