२०८३ भदौ ३ , बुधबार

कृषिमा युवा आकर्षण बढाउन कर्णालीमा विशेष कार्यक्रम



सुर्खेत । कर्णाली प्रदेश सरकारले युवालाई कृषि क्षेत्रमा आकर्षित गरी स्वदेशमै रोजगारी र उद्यमशीलता सिर्जना गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘निर्वाचन क्षेत्र विशेष युवा लक्षित कार्यक्रम’ अघि सारेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कार्यक्रम कार्यान्वयनका लागि नाै करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा ४० लाख रुपैयाँका दरले बजेट खर्च गरिनेछ । जिल्ला कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । हाल कार्यक्रमको कार्यविधि निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । युवालाई कृषि उद्यम, स्वरोजगार र व्यवसायमा जोडेर विदेश पलायन रोक्ने सरकारको लक्ष्य छ ।

रोजगारीको पर्याप्त अवसर नहुनु, लगानीका क्षेत्र पहिचान नहुनु र उद्यमशीलताको अभावका कारण ठूलो संख्यामा कर्णालीका युवा रोजगारी तथा अध्ययनका लागि विदेशिने गरेका छन् । कर्णालीमा श्रमशक्तिको अभावसँगै खेतीयोग्य जमिन बाँझो रहने समस्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा युवालाई आधुनिक कृषि, पशुपालन तथा उत्पादनमूलक व्यवसायमा जोड्न सके रोजगारीसँगै कृषि उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।

तथ्यांक अनुसार कर्णालीका ९४ हजार तिन सय २० जना नागरिक अक्सर विदेशमा बसोबास गर्छन् । यसमध्ये ७७ हजार दुई सय ७८ पुरुष र १७ हजार ४२ महिला छन् । २०६८ सालको तुलनामा विदेशमा बसोबास गर्ने जनसंख्या २६ हजार सात सय ३८ ले बढेको छ । प्रदेश सरकारले नयाँ कार्यक्र ममार्फत युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गरी कृषि क्षेत्रलाई रोजगारीको आकर्षक माध्यम बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार