सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा १९ वटा मुद्दा दर्ता गरेको छ । विभिन्न घटनामा संलग्न २४ जना पक्राउ परेका छन् भने १० जना फरार प्रतिवादीसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये तीनवटा जघन्य तथा गम्भीर अपराध, दुई बहुविवाह, चार बैंकिङ कसुर र १० वटा अन्य प्रकृतिका छन् ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत १० जना पक्राउ परेका छन् । उनीहरूबाट १८ वर्ष सात महिना २० दिन कैद सजाय तथा छ लाख ७८ हजार ३२ रुपैयाँ जरिवाना असुल भएको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । साउनमा छ वटा मुद्दा फर्छ्योट भएका छन् भने प्रहरीमा परेका ८७ वटा ठाडो उजुरीसमेत सबै समाधान गरिएको छ ।
एक महिनामा जिल्लामा १० वटा सवारी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका एक स्थित भेरी नदीमा बोलेरो जिप खस्दा दुई जना बेपत्ता भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय १४ सवारीसाधनलाई कारबाही गरी एक लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। यसैगरी, साउनमा हराएका १६ जना नागरिकलाई प्रहरीले सकुशल फेला पारेको छ ।
फेला पर्नेमा आठ महिला, तीन पुरुष र पाँच बालिका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ नाल अवैध भरुवा बन्दुकसमेत बरामद गरेको छ । तीमध्ये नौ नाल बेवारिसे अवस्थामा फेला परेका हुन् भने दुई नाल घटनामा संलग्न व्यक्तिबाट बरामद भएका छन् ।
कालिमाटी गाउँपालिका तिनको धरानी सामुदायिक वनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ५२ वर्षीय टोपबहादुर पुनको मृत्यु भएको घटनामा प्रहरीले दुई नाल बन्दुकसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । साउनमा प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित ६२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रममा तीन हजार छ सय १० जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार









