२०८३ भदौ ४ , बिहीबार

कम्प्युटर इन्स्टिच्युटको कर पुनरावलोकन गर्न क्यानको माग



सुर्खेत । क्यान महासंघ नेपाल सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिकाभित्र सञ्चालनमा रहेका कम्प्युटर इन्स्टिच्युटलाई प्रोत्साहन गर्दै व्यवसायमैत्री नीति अवलम्बन गर्न माग गरेको छ । शाखाले बुधबार नगरप्रमुख मोहनमाया ढकाललाई मागपत्र बुझाउँदै कम्प्युटर इन्स्टिच्युट तथा सूचना प्रविधिसँग सम्बन्धित व्यवसायलाई न्यायोचित कर प्रणाली लागू गर्न आग्रह गरेको हो ।

क्यान सुर्खेतका अध्यक्ष डिबी रानाका अनुसार डिजिटल शिक्षा, सूचना प्रविधि तथा सीप विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका कम्प्युटर इन्स्टिच्युटलाई स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक छ । उनले एउटै व्यवसायमा नगरपालिका र वडा कार्यालयबाट छुट्टाछुट्टै शीर्षकमा कर लगाउने व्यवस्था अन्त्य गरी अन्य व्यवसायसरह कर प्रणाली व्यवस्थापन गर्न माग गरिएको बताए ।

क्यानले कम्प्युटर इन्स्टिच्युटको व्यवसाय कर पुनरावलोकन गरी व्यवसायको प्रकृति, लगानी, कारोबार, आम्दानी तथा सेवा क्षेत्रलाई आधार बनाएर न्यायोचित कर निर्धारण गर्न माग गरेको छ । कर निर्धारणअघि सम्बन्धित व्यवसायी, क्यान महासंघ तथा अन्य सरोकारवालासँग छलफल र परामर्श गर्ने व्यवस्था गर्नसमेत आग्रह गरिएको छ । त्यस्तै, हाल निर्धारण गरिएको व्यवसाय करको दर पुनः अध्ययन गर्न विशेषज्ञ तथा सरोकारवाला सहितको कार्यदल गठन गर्नुपर्ने माग क्यानको छ ।

क्यान शाखामा आबद्ध कम्प्युटर इन्स्टिच्युट, कम्प्युटर व्यवसायी, आईटी सेवा प्रदायक तथा प्रविधि क्षेत्रसँग आबद्ध व्यवसायीहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना, डिजिटल शिक्षा विस्तार र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । तर वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका कम्प्युटर इन्स्टिच्युटले व्यवसाय करका विषयमा समस्या भोग्दै आएको क्यानको भनाइ छ । विशेषगरी नगरपालिका तथा वडा कार्यालयबाट एउटै व्यवसायका लागि छुट्टाछुट्टै रूपमा कर माग गर्ने, पत्राचार गर्ने तथा कर असुली प्रक्रिया अघि बढाउने कार्यले व्यवसायीमाथि अतिरिक्त आर्थिक भार परेको जनाइएको छ ।

क्यानका अनुसार कम्प्युटर इन्स्टिच्युटका लागि निर्धारण गरिएको व्यवसाय करको दर व्यवसायको वास्तविक प्रकृति, लगानी, कारोबार तथा आम्दानीको अवस्थासँग मेल खाएको छैन । त्यसैले सूचना प्रविधि तथा डिजिटल शिक्षाको क्षेत्रमा काम गरिरहेका व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्ने गरी कर नीति पुनरावलोकन गर्न आवश्यक रहेको क्यानले जनाएको छ । मागपत्र बुझ्दै नगरप्रमुख ढकालले व्यवसायीका समस्या समाधानका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएकी छन् ।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार