२०८३ भदौ ४ , बिहीबार

जाजरकोटमा पहिरो प्रभावित क्षेत्रको भूगर्भीय अध्ययन सुरु



जाजरकोट । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नाै एनडिआरआरएमए०को भूगर्भविद्सहितको टोलीले जाजरकोटमा पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रको स्थलगत अध्ययन सुरु गरेको छ । टोलीले भेरी नगरपालिका दुई रिसाङसहित आसपासका क्षेत्रमा पुगेर पहिरोबाट भएको क्षति, थप जोखिम र प्रभावित नागरिकको अवस्थाबारे अध्ययन गरिरहेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न तथा नागरिकको तत्कालीन सुरक्षा र बसोबासको अवस्था पहिचान गर्न विज्ञ टोली रिसाङ पुगेको हो । टोलीले स्थानीयवासीसँग भेटघाट गरी उनीहरूले भोगिरहेका समस्या र आवश्यकताबारे समेत जानकारी लिएको छ ।

टोलीमा जियोलोजिस्ट डा. प्रकाश पोख्रेल, लेखराज भट्ट, शाखा अधिकृत निरञ्जनप्रकाश निरौला, इन्जिनियर जगदीश विष्ट र मौसमविद् राजन लामिछानेलगायत विज्ञ तथा प्राविधिक सहभागी छन् । टोलीले भेरी नगरपालिका एक देखी चारका विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा स्थलगत निरीक्षण गर्नेछ । अध्ययनपछि दुई दिनभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने तयारी गरिएको प्राधिकरणका उपसचिव सुरेश सुनारले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढाले समेत सुरक्षा निकायका प्रतिनिधिसहित प्रभावित क्षेत्रको निरीक्षण गरी स्थानीयवासीसँग भेटघाट गरेका छन् । उनले प्रभावित नागरिकको तत्कालीन सुरक्षा र दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए । भूगर्भविद्को अध्ययनका आधारमा मात्रै जोखिमयुक्त बस्ती स्थानान्तरण वा पुनर्स्थापनाबारे निर्णय गर्नुपर्ने उनकाे भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले पनि विज्ञ टोलीको प्रतिवेदन प्राप्त भएपछि बस्ती स्थानान्तरण गर्ने वा हालकै स्थानमा सुरक्षित बसोबासको व्यवस्था गर्ने विषयमा निर्णय लिइने बताए । तत्काल अस्थायी बसोबास आवश्यक परे सुरक्षित स्थान पहिचान गर्न पनि विज्ञको सुझाव लिइने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार