२०८३ भदौ ४ , बिहीबार

कँडेलको व्यंग्य– ‘चुपचाप सरकार कहाँ छ ?



सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारको उपस्थिति प्रभावकारी बनाउन आग्रह गरेका छन् । प्रदेश स्थापना दिवसका अवसरमा बोल्दै उनले जटिल राजनीतिक तथा सामाजिक परिस्थितिमा सरकार चुपचाप बसेर मात्र नहुने बताएका हुन् ।

कँडेलले प्रदेशमा देखिएका समस्या र असहज परिस्थितिलाई सम्बोधन गर्न सरकार तथा राजनीतिक नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले शासन सञ्चालन र जनताको सुरक्षा सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

संघीय सरकारका प्रतिनिधिबाट प्रदेशका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई थुन्ने, घेराबन्दी गर्ने वा नियन्त्रणमा लिने खालका अभिव्यक्ति आउनु लोकतान्त्रिक व्यवस्थाका लागि उचित नभएको उनको भनाइ छ । यस्ता अभिव्यक्ति र गतिविधिले संविधान तथा संघीयताको मर्ममाथि प्रश्न उठाउने उनले बताए।

पत्रकारलाई सत्यतथ्य समाचार लेख्न नडराउन आग्रह गर्दै कँडेलले आलोचना गरेकै आधारमा जेल जानुपर्ने अवस्था सिर्जना हुनु प्रेस स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको बताए । कर्णालीका समस्या समाधान गर्न सरकार र प्रतिपक्षसहित जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको कँडेलले बताए । संविधानको संरक्षणसँगै विकास निर्माणलाई गति दिन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार