२०८३ भदौ ४ , बिहीबार

डोल्पामा सात ठाउँमा निःशुल्क आँखा शिविर हुदै



डोल्पा । जिल्लामा मोतीबिन्दु तथा आँखासम्बन्धी समस्या भएका नागरिकलाई लक्षित गरी भदौ १७ देखि २४ गतेसम्म विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई घरआँगनमै आँखाको उपचार सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा, उपशाखा त्रिपुराकोटको आयोजनामा तथा त्रिपुरासुन्दरी नगरपालिका, च्यारिटी हेल्थ फाउण्डेसन धनगढी र सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरिनेछ ।

आयोजकका अनुसार भदौ १७ गते आधारभूत स्वास्थ्य केन्द्र रिस, १८ गते आधारभूत स्वास्थ्य केन्द्र रुम, २० गते आधारभूत स्वास्थ्य केन्द्र रङ, २१ गते स्वास्थ्य चौकी सूँ, २२ गते स्वास्थ्य चौकी पहाडा, २३ गते भगवती आधारभूत विद्यालय छुल र २४ गते त्रिपुराकोट स्वास्थ्य चौकीमा आँखा परीक्षण तथा मोतीबिन्दु छनोट गरिनेछ । शिविरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता तथा आँखा परीक्षण गरिने जनाइएको छ ।

आँखाको दृष्टि कमजोर भएका, मोतीबिन्दुको समस्या देखिएका तथा अन्य आँखासम्बन्धी समस्या भएका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् । शिविरबाट मोतीबिन्दुका लागि शल्यक्रिया आवश्यक देखिएका बिरामीलाई छनोट गरी निःशुल्क शल्यक्रिया गरिनेछ । छनोट भएका बिरामीको भदौ २५ गते त्रिपुराकोट स्वास्थ्य चौकीमा शल्यक्रिया गर्ने तयारी गरिएको त्रिपुरासुन्दरी स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए ।

दुर्गम क्षेत्रमा आँखासम्बन्धी विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध नहुँदा सामान्य परीक्षण र उपचारका लागि समेत नागरिकले लामो दूरी तय गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा शिविरले आर्थिक रूपमा कमजोर तथा उपचारका लागि बाहिर जान नसक्ने नागरिकलाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ ।

आयोजकले त्रिपुरासुन्दरी नगरपालिका र आसपासका क्षेत्रमा आँखासम्बन्धी समस्या भएका नागरिकलाई निर्धारित मिति र स्थानमा उपस्थित भई आँखा परीक्षण गराउन आग्रह गरेको छ । साथै, शल्यक्रियाका लागि छनोट भएका बिरामीलाई तोकिएको मितिमा त्रिपुराकोट स्वास्थ्य चौकीमा उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार