जुम्ला । तिला गाउँपालिका छ सुुँडि गाउँस्थित देव लक्ष्मी आधारभूत विद्यालयको भवन जीर्ण भएपछि पठनपाठन प्रभावित भएको छ । वर्षाका कारण विद्यालयको दुईकोठे भवनको पछाडिको पूरै पर्खाल भत्किएपछि विद्यार्थीलाई अन्य स्थानमा सारेर पढाउनुपर्ने अवस्था आएको हो । विद्यालयका प्रधानाध्यापक जोगबहादुर बस्नेतका अनुसार लगातारको वर्षाका कारण भवनको पछाडिको पर्खाल कमजोर हुँदै गएपछि भत्किएको हो ।
पर्खाल भत्किएपछि कक्षाकोठा व्यवस्थापन गर्न समस्या भएको र विद्यार्थीको सुरक्षित बसाइमा समेत चुनौती थपिएको उनले बताए । विद्यालयमा रहेका चार भवनमध्ये एउटा भवनको पर्खाल भत्किएको छ भने अन्य तीन भवनसमेत जीर्ण अवस्थामा छन् । दुईतले अर्को भवनमा समेत चिरा परेको विद्यालयले जनाएको छ । सबै भवन पुराना र जीर्ण भएकाले विद्यार्थीलाई जोखिमका बीच अध्ययन गराउनुपर्ने अवस्था रहेको प्रधानाध्यापक बस्नेतले बताए ।
विद्यालयमा हाल ९५ जना विद्यार्थी आधारभूत तहसम्म अध्ययनरत छन् । कक्षाकोठा अभाव र जीर्ण संरचनाका कारण नियमित पठनपाठन प्रभावित भएको विद्यालयको भनाइ छ । विद्यालय प्रशासनले विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै तत्काल जीर्ण संरचनाको मर्मत गर्नुपर्ने जनाएको छ । साथै, दीर्घकालीन रूपमा सुरक्षित र सुविधायुक्त नयाँ विद्यालय भवन निर्माण गर्न स्थानीय सरकारसँग आग्रह गरिएको प्रधानाध्यापक बस्नेतले बताए ।
विद्यालयले भवनको अवस्था तत्काल निरीक्षण गरी जोखिमयुक्त संरचना हटाउने, मर्मत गर्ने तथा आवश्यक बजेट व्यवस्थापनका लागि स्थानीय तहसँग पहल गर्न माग गरेको छ । नयाँ भवन निर्माण हुन सके विद्यार्थीले सुरक्षित वातावरणमा नियमित अध्ययन गर्न पाउने विद्यालयको अपेक्षा छ ।









