रुकुम । रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका आठ एकान्तकुनानजिक भएको दुर्घटनामा गुल्मीकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सिम्ली बजारतर्फ जाँदै गरेको भे.१ ज १४४२ नम्बरको विद्युतीय गाडीले सडकमा रहेका आमा–छोरीलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार स्वस्तिका आफ्ना श्रीमानलाई भेट्न रुकुम पश्चिम आएकी थिइन् । उनका श्रीमान् लक्ष्मी सनराइज बैंकको मुसिकोट शाखामा कार्यरत छन् ।
श्रीमानलाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजानका लागि स्वस्तिका गाडीबाट ओर्लिएकी थिइन् । सोही क्रममा गाडीले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए । दुर्घटनापछि दुवै जनालाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको शव जिल्ला अस्पतालमा राखिएको छ ।
घटनापछि प्रहरीले ठक्कर दिने गाडी नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न रहेको आरोपमा सानीभेरी गाउँपालिका तिन चौखे निवासी चालक अमर विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ । गाडीको गति, चालकको अवस्था तथा दुर्घटना कसरी भयो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









