हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्ला तीन आर्थिक वर्षमा आत्महत्याका घटना क्रमशः बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार विशेषगरी ४० वर्षमुनिका युवायुवती आत्महत्याका घटनामा बढी प्रभावित देखिएका छन् । घरायसी समस्या, आपसी विवाद, निराशा र नकारात्मक सोचका कारण यस्ता घटना बढ्दै गएको प्रहरी तथा स्वास्थ्यकर्मीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई जनाले आत्महत्या गरेका थिए । त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा पाँच र २०८२/८३ मा सात जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । तीन आर्थिक वर्षमा मात्रै १४ वटा आत्महत्याका घटना दर्ता भएका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा १२ देखि ४१ वर्ष उमेर समूहका १३ जना छन् भने ५० वर्षभन्दा माथिका एक जना रहेका छन् ।
जिल्लाका सात स्थानीय तहमध्ये ताँजाकोट, सिमकोट, सर्केगाड, खार्पुनाथ र चङ्खेलीमा आत्महत्याका घटना भएका छन् । सिमकोट गाउँपालिका सातमा मात्रै पाँचवटा घटना भएको प्रहरीको तथ्याङ्क छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन २७ गते पनि सिमकोट सात ग्वालेखारका १९ वर्षीय युवकले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल हुम्लाका चिकित्सक भीम बुढाका अनुसार पछिल्लो समय सामान्य विवाद र पारिवारिक समस्यालाई समेत ठूलो रूपमा लिने तथा निराशा र नकारात्मक भावना बढ्ने प्रवृत्तिले जोखिम बढाएको देखिन्छ ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पनि मानसिक तनावमा भूमिका खेल्न सक्ने उनकाे भनाइ छ । आत्महत्याको जोखिममा रहेका व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संकेत दिने भएकाले परिवार र समुदायले त्यस्ता संकेतलाई गम्भीर रूपमा लिनुपर्ने चिकित्सक बुढाले बताए । बढ्दो घटनालाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना, पारिवारिक सहयोग र समयमै परामर्शको पहुँच विस्तार गर्न आवश्यक रहेको उनकाे सुझाव छ ।









