२०८३ भदौ ८ , सोमबार

डोल्पामा कर्णालीकै पहिलो याक चिज उद्योग सञ्चालन हुने



डोल्पा । डोल्पाको चार हजार मिटरभन्दा माथिको हिमाली क्षेत्रमा याक तथा चौँरीपालनलाई व्यावसायिक उत्पादनसँग जोड्ने नयाँ पहल सुरु भएको छ । जगदुल्ला गाउँपालिका चार चौँरीकोटस्थित भालु व्यावसायिक चौँरी फार्ममा कर्णाली प्रदेशकै पहिलो व्यावसायिक याक चिज उद्योग सञ्चालन गर्ने गरी गाउँपालिका र दुग्ध विकास संस्थान (डिडिसी) बीच सम्झौता भएको हो । शनिबार डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार डिडिसीले उद्योग सञ्चालनका लागि आवश्यक तालिम, प्राविधिक जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । गाउँपालिकाले नियमित उत्पादनको जिम्मेवारी लिनेछ भने उत्पादित चिज डिडिसीले खरिद गर्नेछ । डिडिसीका महाप्रबन्धक डा. पाण्डेका अनुसार उद्योग सञ्चालनका लागि काठमाडौंस्थित प्राविधिक टोली परिचालन गरिनेछ । प्रारम्भिक लक्ष्यअनुसार वार्षिक करिब ३० टन याक चिज उत्पादन गर्ने योजना छ ।

उत्पादित चिजको बजार सुनिश्चित हुने भएपछि किसानलाई उत्पादन बढाउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । चार हजार मिटरभन्दा बढी उचाइमा रहेको जगदुल्लाको मौरेलेक क्षेत्र याक तथा चौँरीपालनका लागि उपयुक्त मानिन्छ । पर्याप्त खर्क, घाँसे मैदान र प्राकृतिक चरन क्षेत्र रहेकाले यहाँको दूधबाट उच्च गुणस्तरको चिज उत्पादन गर्न सकिने पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका प्रमुख डा. साजन रोकायाले बताए ।

स्थानीय किसानले लामो समयदेखि याक तथा चौँरीपालन गर्दै आए पनि उत्पादनलाई बजारसँग जोड्न नसक्दा आर्थिक सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । उद्योग सञ्चालनपछि दूधको स्थानीयस्तरमै प्रशोधन हुने र किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ । जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायाले चौँरीपालनलाई परम्परागत जीविकोपार्जनबाट आधुनिक व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यले उद्योग सञ्चालनको पहल गरिएको बताए ।

उत्पादित चिजलाई ‘डोल्पा ब्रान्ड’ बनाएर स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य रहेको उनले बताए । उद्योग सफल भए याक चिजसँगै घिउ, छुर्पीलगायत हिमाली दुग्धजन्य उत्पादनलाई समेत व्यावसायिक बनाउन सकिने सम्भावना छ । यसबाट स्थानीय युवालाई रोजगारी र स्वरोजगारको अवसर सिर्जना हुनुका साथै डोल्पाको याक–चौँरीपालनलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार