जुम्ला । जिल्लाकाे चन्दननाथ नगरपालिका तिन स्थित चेरेचौर पछिल्लो समय प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हरियालीले ढाकिएको फराकिलो चौर, गोठालाको जीवनशैली र स्थानीय उत्पादनले यहाँ पुग्ने पर्यटकलाई गाउँको मौलिक वातावरणको अनुभव गराउने गरेको छ । जुम्ला सदरमुकाम खलंगाबाट करिब छ किलोमिटर टाढा रहेको चेरेचौर पैदल करिब डेढ घण्टामा पुग्न सकिन्छ ।
सडकको पहुँच विस्तार भएपछि सवारीसाधनबाट ३० देखि ४५ मिनेटमै पुग्न सकिने भएकाले पछिल्लो समय पर्यटकको आवागमन बढेको स्थानीय बताउँछन् । स्थानीय दलजीत खत्रीका अनुसार अहिले दैनिक ५० भन्दा बढी आन्तरिक पर्यटक भिडियो तथा टिकटक बनाउन चेरेचौर पुग्ने गरेका छन् । चौरमा ५० भन्दा बढी पशुवस्तुका गोठ रहेका छन् । वर्षायाममा गोठालाहरू यही क्षेत्रमा बसेर गाई, भैंसी तथा भेडा चराउने गर्छन् ।
चेरेचौरको आकर्षण नयाँ भने होइन । पुस्तौंदेखि स्थानीयले पशुपालन गर्दै आएको यो चौर उनीहरूको जीविकोपार्जनसँग जोडिएको छ । यहाँ उत्पादन हुने दूध, दहीलगायत सामग्री बिक्री गरेर स्थानीयले आम्दानी गर्दै आएका छन् । पर्यटकको आगमन बढेपछि ताजा दूध र दही बिक्री गर्ने अवसरसमेत बढेको छ । गोठाला नरबहादुर खत्रीका अनुसार पर्यटकहरू चौरको प्राकृतिक सौन्दर्य हेर्नुका साथै स्थानीय दूध–दहीको स्वाद लिन आउने गरेका छन् ।
उनीहरूलाई महँगा होटलभन्दा खुला आकाश, हरियाली र गाउँको सरल जीवनशैलीले आकर्षित गर्ने गरेको छ । चेरेचौर र धिमीचौर जोड्ने पुल निर्माण भइरहेको छ । पुल निर्माण सम्पन्न भएपछि आवागमन थप सहज हुने र पर्यटकको संख्या बढ्ने स्थानीयको अपेक्षा छ । पर्यटनसँगै स्थानीय पशुपालन र उत्पादनको बजार विस्तार हुने विश्वाससमेत गरिएको छ ।









