सल्यान । प्रहरीले सामुदायिक वनको ओढारमा लुकाइराखिएका सात थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । वनगाड कुपिन्डे नगरपालिका–१२, भदालेस्थित सामुदायिक वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा शनिबार ती हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार ओढारमा एकनाले सात थान भरुवा बन्दुक लुकाएर राखिएको अवस्थामा फेला पारिएको हो ।
बरामद गरिएका हतियार जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सामुदायिक वन क्षेत्रमा हतियार लुकाइएको सूचना तथा खोजीका क्रममा प्रहरीले ओढारमा ती बन्दुक फेला पारेको हो । बरामद हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले रागेचौरमा अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा एक टिप्परसमेत नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको टोलीले कुमाख गाउँपालिका तिन रागेचौरस्थित प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा टिप्पर नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार घाटाचौरबाट चिसापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ क ०८९९ नम्बरको टिप्परमा अनुमति नलिई बालुवा ओसारपसार भइरहेको पाइएको थियो ।
टिप्परका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आठ कालिञ्चोकका ४३ वर्षीय मीनबहादुर मर्साङ्गी रहेका छन् । बालुवासहित नियन्त्रणमा लिइएको टिप्परलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीले अवैध हतियार तथा प्राकृतिक स्रोतको गैरकानुनी ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउने जनाएको छ ।









