जाजरकोट । भेरी नगरपालिका दुई रिसाङमा बाढीपहिरोबाट घर पूर्ण रूपमा क्षति भएका १४ परिवारलाई अस्थायी रूपमा टेन्टमा राखिएको छ । तत्काल सुरक्षित आवासको व्यवस्था गर्न शनिबार १५ वटा टेन्ट निर्माण गरिएको हो । निर्माण गरिएका टेन्टमध्ये एउटा आपत्कालीन स्वास्थ्य सेवाका लागि छुट्याइएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को टोलीले स्थलगत अनुगमन गरेपछि पूर्ण रूपमा घर क्षति भएका परिवारलाई सुरक्षित स्थानमा टेन्ट निर्माण गरी स्थानान्तरण गरिएको उनले बताए । बाढीपहिरोपछि त्रिभुवन आधारभूत विद्यालयमा आश्रय लिइरहेका प्रभावितमध्ये १४ परिवारको घर बस्न नमिल्ने गरी क्षति भएको थियो । अन्य प्रभावित भने आफ्नै घरमा बसिरहेका वा जोखिम बढेमा सुरक्षित स्थानमा सर्न तयार अवस्थामा रहेको प्रशासनले जनाएको छ ।
टेन्ट निर्माण गरिएको स्थान दीर्घकालीन रूपमा सुरक्षित नभए पनि तत्कालका लागि अस्थायी आवासको व्यवस्था गरिएको हो । उक्त स्थानको जग्गा भाडा भेरी नगरपालिकाले बेहोर्ने सहमति भएको छ । टेन्टमा भेरी नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्यकर्मीसमेत खटाइएको छ । यसैबीच, रिसाङका करिब दुई सय प्रभावित परिवारलाई २३ लाख रुपियाँ बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्चले सेभ दी चिल्ड्रेनसँगको साझेदारी तथा जिल्ला विपत् व्यवस्थापन समिति र भेरी नगरपालिकाको समन्वयमा राहत सामग्री वितरण गरेको हो ।
मञ्चका अध्यक्ष छवि पन्तका अनुसार प्रत्येक परिवारलाई दुई थान त्रिपाल, दुई थान समर ब्ल्याङ्केट, भान्साका भाँडाकुँडा, किशोरीका लागि आवश्यक सामग्री तथा बालबालिकाका सामग्री वितरण गरिएको छ । गत साउन ३० गते रिसाङमा आएको बाढीपहिरोमा परी चार जनाको मृत्यु र १० जना घाइते भएका थिए । घटनापछि सयौँ परिवार प्रभावित तथा विस्थापित भएका छन् । प्रशासनले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने तथा राहत र स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।









