रुकुम पश्चिम । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त रुकुम पश्चिमका २७ सामुदायिक विद्यालयका भवन पुनर्निर्माण भएका छन् । विसं २०८० कात्तिक १७ गते गएको भूकम्पले क्षति पुर्याएका विद्यालय भवन कर्णाली प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयमार्फत निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीका अनुसार जिल्लामा पुनर्निर्माणका लागि छनोट भएका ४३ विद्यालयमध्ये २७ विद्यालयका भवन गत आर्थिक वर्ष २०८२/८३ मा निर्माण सम्पन्न भएका छन् । बाँकी १६ विद्यालयको पुनर्निर्माण चालु आर्थिक वर्षमा अघि बढाइएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि रुकुम पश्चिमका छवटै स्थानीय तहमा ३८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटमध्ये २७ विद्यालय र पाँच स्वास्थ्य संस्थाको भवन निर्माणमा २३ करोड ४७ लाख छ हजार आठ सय ७७ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

पुनर्निर्माण भएका विद्यालयमध्ये चौरजहारी र मुसीकोट नगरपालिकामा चार–चार, आठबिसकोटमा छ, बाँफिकोट गाउँपालिकामा तीन, त्रिवेणीमा पाँच र सानीभेरी गाउँपालिकामा पाँच विद्यालय रहेका छन् । विद्यालय भवन निर्माणका लागि आवश्यकताअनुसार ७० देखि ७५ लाख रुपैयाँसम्म बजेट विनियोजन गरी ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो । सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले विद्यालय भवन पुनर्निर्माण भएपछि भूकम्पबाट प्रभावित शैक्षिक गतिविधि क्रमशः सामान्य अवस्थामा फर्किन थालेको बताए ।
चौरजहारी पाँच स्थित माध्यमिक विद्यालय खहरेका प्रधानाध्यापक चक्रप्रसाद शर्माले नयाँ चारकोठे भवन बनेपछि पठनपाठन सहज भएको बताए । यसअघि भूकम्पका कारण भवनमा समस्या भएपछि विद्यालयले कठिनाइ भोग्दै आएको थियो । आठबिसकोट १० स्थित सरस्वती आधारभूत विद्यालय मैडाँडाका प्रधानाध्यापक अमर मल्लले नयाँ दुईकोठे भवनबाट कक्षा सञ्चालन गर्न सहज भए पनि थप कक्षाका लागि अझै भवन आवश्यक रहेको बताए । बाँकी क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण पनि चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य कार्यालयले लिएको छ ।








