२०८३ भदौ ९ , मंगलबार

मौरीपालनमा किसानको आकर्षण बढ्दो



सुर्खेत । बजारमा स्थानीय महको माग बढ्दै गएपछि सुर्खेतसहित कर्णालीका किसान व्यावसायिक मौरीपालनतर्फ आकर्षित हुन थालेका छन् । कम समय र व्यवस्थित मेहनतबाट आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय युवा तथा अन्य किसानसमेत मौरीपालन व्यवसायमा जोडिन थालेका हुन् । वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरकी सावित्री ढकालले विसं २०६५ मा चार घारबाट सुरु गरेको मौरीपालनलाई अहिले व्यावसायिक रूप दिएकी छन् । हाल उनीहरुसंग तीन सय आधुनिक घार रहेका छन् ।

उनले वार्षिक १५ लाख रुपैयाँभन्दा बढीको मह उत्पादन तथा बिक्री गर्दै आएको बताइन् । मौरीपालनका लागि तालिम लिएपछि व्यवसाय सुरु गरेकी ढकालले मौरीलाई विभिन्न मौसम अनुसार चरन क्षेत्रमा लैजाने गरेको बताइन् । मौरी घारमा राख्दैमा मह उत्पादन नहुने भएकाले यसको नियमित स्याहार, उचित व्यवस्थापन र मौसम अनुसारको चरन क्षेत्र आवश्यक पर्ने उनकाे भनाइ छ ।

ढकालले विसं २०७२ मा नितेश कृषि फर्म स्थापना गरी मौरीपालनलाई थप विस्तार गरेकी हुन् । उनले सेरेना र मेनिफेरा प्रजातिका मौरी, आधुनिक घार तथा मौरीपालनका आवश्यक सामग्री बिक्री गर्दै आएकी छन् । उनका अनुसार फर्मबाट यस वर्ष करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मौरीपालनसँगै उनले तरकारी खेतीसमेत गर्दै आएकी छन् ।

वीरेन्द्रनगर–११ गाग्रेतालका छबिलाल कँडेल पनि सात वर्षदेखि व्यावसायिक मौरीपालनमा सक्रिय छन् । हाल उनिसँग ५४ भन्दा बढी आधुनिक घार छन् । कँडेलले मौरीपालनबाट वार्षिक करिब सात लाख रुपैयाँ आम्दानी हुने बताए । महको माग बढ्दै गएपछि घार थप्दै गएको उनकाे भनाइ छ । कर्णाली प्रदेशमा मौरीपालक किसानको संख्या पनि बढिरहेको छ ।

सुर्खेत, दैलेख, जाजरकोट र रुकुम पश्चिममा करिब तीन हजार पाँच सय किसान मौरीपालनमा आबद्ध रहेको कर्णाली प्रदेश मौरीपालक कृषक संगठनका अध्यक्ष लिलाराम ढकालले बताए । आधुनिक घार प्रयोग गर्दा उत्पादन बढाउन सकिने र अन्य कृषि व्यवसायको तुलनामा व्यवस्थापन सहज हुने भएकाले किसानको आकर्षण बढेको उनकाे भनाइ छ । मौरीपालनको सीप, व्यावसायिक विस्तार र बजार पहुँच सुधारका लागि विभिन्न तालिमसमेत सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार