दैलेख । जिल्लाकाे भगवतीमाई गाउँपालिकास्थित श्री ज्वाला माध्यमिक विद्यालयका विद्यार्थी कृषि विषयलाई कक्षाकोठाको अध्ययनमा मात्र सीमित नराखी उत्पादन, प्रशोधन र बजारीकरणसँग जोडेर सिकिरहेका छन् । विद्यालयमा कक्षा नाै देखि १२ सम्म सञ्चालित कृषि प्राविधिक धारअन्तर्गत विद्यार्थीले खेतबारीमा प्रयोगात्मक उत्पादनसँगै कृषि उपजको प्रशोधन र बजार व्यवस्थापनको अभ्यास गरिरहेका छन् ।
विद्यार्थीले विद्यालयको बारीमा उत्पादन गरेको धानबाट चामल तयार गरेका छन् । त्यस्तै, मूलाबाट परम्परागत सिन्की, विभिन्न प्रजातिका च्याउ तथा डल्ले खुर्सानीबाट अचार उत्पादन गरेका छन् । उत्पादित सामग्रीलाई बजारसम्म पुर्याउन आवश्यक तयारीसमेत भइरहेको विद्यालयले जनाएको छ । कार्यक्रम संयोजक मनसुन दाहालका अनुसार विद्यार्थीलाई कृषि उपज कच्चा पदार्थकै रूपमा बिक्री गर्नुभन्दा प्रशोधन गरेर त्यसको मूल्य बढाउने सीप सिकाइएको छ ।
उनका अनुसार उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियामा विद्यार्थीलाई सहभागी गराउने विद्यालयको लक्ष्य छ । ‘विद्यार्थीलाई कक्षाकोठाको चौघेरामा मात्र सीमित नराखी उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण भ्यालु चेनमा जोड्ने हाम्रो उद्देश्य हो,’ दाहालले भने, ‘विद्यालयलाई कृषि ज्ञान, आधुनिक प्रविधि र स्थानीय समुदायबीचको सेतुका रूपमा विकास गर्दैछौं ।’ विद्यालयले कृषि शिक्षालाई स्थानीय समुदायसँग जोड्ने योजना पनि अघि सारेको छ ।
किसानलाई प्राविधिक परामर्श दिन माटो परीक्षण शिविर सञ्चालन गर्ने, स्थानीय तथा लोपोन्मुख बीउ संरक्षणका लागि बीउ बैंक स्थापना गर्ने र स्थानीय किसानसँग प्रत्यक्ष प्राविधिक सहकार्य गर्ने योजना विद्यालयको छ । प्रधानाध्यापक रामबहादुर थापाले विद्यार्थीलाई सीपसँगै उत्पादन र बजारको ज्ञान दिने उद्देश्यले कृषि शिक्षालाई व्यावहारिक बनाइएको बताए ।
‘शिक्षासँग सीप, सीपसँग उत्पादन र उत्पादनसँग बजार जोड्ने अभियान हो,’ उनले भने, ‘यसबाट कृषि अध्ययनको विषय मात्र नभई आम्दानी र रोजगारीको आधार पनि हो भन्ने बुझाउन सहयोग पुग्छ ।’ विद्यालयले आगामी दिनमा स्थानीय स्रोत र प्रविधिमा आधारित कृषि उद्यमलाई प्राथमिकता दिने जनाएको छ । विद्यार्थीले विद्यालयमा सिकेको सीप स्थानीय किसानसम्म पुर्याउँदै विद्यालयलाई कृषि ज्ञान, प्रविधि र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।









