२०८३ भदौ ९ , मंगलबार

दार्मामा स्क्रबटाइफसको संक्रमण बढ्यो, सातामै तीन जनाको मृत्यु



सल्यान । दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण बढ्दै गएको छ । पछिल्लो एक सातामा संक्रमण पुष्टि भएका दुई जना र रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका अर्का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्मा पाँच लयटा ढाँकाडामका ६९ वर्षीय तुलबहादुर खड्गा, वडा छ की मलिवाङका ८२ वर्षीय बलबहादुर थापा र मलिवाङकै नरबहादुर बुढाथोकी छन् । खड्गा र थापाको किट परीक्षणमा स्क्रबटाइफस पोजेटिभ देखिएको थियो भने बुढाथोकीमा रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

संक्रमण बढेसँगै दार्माका स्थानीयमा त्रास फैलिएको छ । स्वास्थ्य संस्थामा परीक्षण किट अभाव हुँदा बिरामीलाई निजी स्वास्थ्य संस्था वा जिल्ला बाहिर उपचारका लागि लैजानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । दैनिक चार–पाँच जनासम्ममा परीक्षण गर्दा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । स्थानीय नीमबहादुर खड्गाले स्वास्थ्य संस्थामै निःशुल्क परीक्षण र उपचारको व्यवस्था हुनुपर्ने माग गरे । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारलाई बाहिर गएर उपचार गराउन कठिन भएको छ ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार स्वास्थ्य कार्यालय सल्यानसँग समन्वय गरेर परीक्षण तथा उपचार शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । ज्वरो आएका बिरामीको स्क्रबटाइफस परीक्षण गर्नुका साथै घरघरमै पुगेर स्वास्थ्य परीक्षण र उपचार गर्ने योजना रहेको उनले बताए । वर्षातको समयमा घाँसपात तथा जंगल क्षेत्रमा काम गर्दा किर्नाजस्तो जीवको टोकाइबाट स्क्रबटाइफस हुन सक्ने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले स्थानीयलाई आग्रह गरेका छन् ।

भल्चौर स्वास्थ्य संस्थामा समेत ज्वरोका बिरामीको संख्या बढेको छ । यसअघि दैनिक १५ देखी २० जना बिरामी आउने गरेकोमा अहिले ३० जनासम्म पुग्ने गरेको स्वास्थ्यकर्मी टेकराज बोहराले बताए । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले संक्रमण नियन्त्रणका लागि घरघरमा स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको र स्वास्थ्य संस्थामा अभाव भएको परीक्षण किट तत्काल उपलब्ध गराउने बताए ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार