२०८३ असोज १३ , मंगलबार
फ्रन्ट पेज

किशोर मनको मौनता नबुझ्दा बढ्दो जोखिम



सुर्खेत । गत साउन २ गते सुर्खेतको लेकवेशी नगरपालिका–१ की १३ वर्षिया गुञ्जन खड्कालाई अपरिचिति समूहले घर नजिकैको वन छेउ (सडक) मा वेहोस अवस्थामा मुखमा पट्टी र डोरीले हात खुट्टा बाँधेर फालिदिए । घाँस काट्न गएका स्थानीयले देखेपछि लेखफर्सामा रहेको अस्थायी प्रहरी बिटमा जानकारी गराएपछि प्रहरीले उनको डोरी फुकाएर सोधपुछ ग¥यो । अर्धवेहोस अवस्थामा भेटिएकी उनले प्रहरीसमक्ष घटनाबारे केही पनि बताइनन् । आफूलाई एक जना व्यत्तिले नसा सुँघाएर वेहोस गराएकाले आफूले केही थाह नपाएको बताएपछि प्रहरीले गुञ्जनलाई आफन्तको जिम्मा लगायो ।

भोलिपल्ट उनी आफैले प्रहरीसमक्ष के–के भएको हो भन्छु भन्दै प्रहरी चौकी गएपनि उनले त्यहाँ पुगेपछि केही बोलिनन् । प्रहरी चौकी पुगेर आफन्तले घर ल्याउने क्रममा आफन्तलाई धेरै पछाडी नै छाडेर उनी छिटोछिटो अगाडी लागिन् । उनी अध्ययनरत विद्यालयकी शिक्षक रुपा पौडेलका अनुसार प्रहरी चौकीबाट घरतिर लागेकी गुञ्जन घर पुगिनन् । ‘आफन्त घर पुग्दा उनी घर थिइनन्,’ उनले भनिन्, ‘त्यस दिन उनी घर नपुगेपछि घरमा खोजी सुरु भयो ।’ तीन गतेदेखि हराएकी नातीनिको खोजीमा उनका बाजे बज्यै र अन्य आफन्त जताततै धाए । चार गते दिनभरी खोज्दा पनि नभेटिएकी गुञ्जन अन्ततः ५ गते बिहान वनमा झुन्डिएको अवस्थामा फेला परिन् । उनले आफु झुण्डिनुभन्दा अगाडी भुइँमा लेखेकी थिइन्, ‘मलाई कसैले बुझेन, कसैले माया गरेन,’ पानको पातको चिन्ह्सहित उनले थप लेखेकी थिइन्, ‘मलाई माफ गरिदिनुहोला ।’

बुवा कामका लागि भारत र आमाले छोडेर अन्त गएपछि बाजे बज्यैको सहारामा हुर्किएकी गुञ्जनले लामो समयको मानसिक तनाबपछि अन्ततः आत्महत्याको बाटो रोजिन् । ‘उनीमाथि घटेको घटनाबारे थप बुझ्न खोजको भए यस्तो घटना हुने थिएन कि,’ स्थानीय प्रेमबहादुर कठायत भन्छन्, ‘नानीसँग प्रहरीले अथवा घरमा अन्य सदस्यले भन्न खोजेको कुरा बुझेर उनलाई संरक्षण गरेको भए यस्तो नहुन पनि सक्थ्यो, अहिले धेरै बालबालिका तथा किशोर किशोरीहरुको कुरा अभिभावकले नसुन्दा गलत बाटो रोजिरहेका छन् ।’

गुञ्जनको घटनाजस्तै किशोरकिशोरीको मानसिक स्वास्थ्य अहिले विश्वव्यापी चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक सातमध्ये एक जनाजति कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । किशोरावस्थामा सुरु हुने मानसिक स्वास्थ्य समस्याले पढाइ, सामाजिक सम्बन्ध र दैनिक जीवनमा असर पार्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या पनि किशोरकिशोरी तथा युवाको मृत्युको प्रमुख कारणमध्ये एक हो । तर यस्तो अवस्था विश्वका अरु ठाउँमा मात्रै छैन । नेपालमा पनि किशोरकिशोरीको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या देखाउने अध्ययनहरू छन् ।

यस्तै, गत असार ३० गते वीरेन्द्रनगर नगरपालिकाका कक्षा १० मा अध्ययनरत १५ वर्षिय एक किशोरले पनि यही बाटो रोजे । आफन्तकाअनुसार लामो समयदेखि एक्लै बस्ने, पढ्दा होस् या काम गर्दा वा मोबाइल हेर्दा ढोका थुनेर बस्ने गर्थे । छोराको अवस्थाबारे परिवार अनभिज्ञ थिए । छोराको एक्लै बस्ने, कसैसँग घुलमिल नहुने, कुरा नगर्ने बानीलाई परिवारले यस्तै होला भनेर वेवास्ता ग¥यो । अन्ततः ति किशोरले पनि आफ्नै कोठामा आत्महत्या गरे ।

नेपालमा किशोरकिशोरीको आत्महत्यासम्बन्धी अवस्था बुझ्न गरिएको एक अध्ययनमा ६ हजार ५ सय ३१ जना कक्षा ७ देखि ११ सम्मका विद्यार्थी सहभागी थिए । विश्व स्वास्थ्य संगठनको न्यिदब िक्अजयय–िदबकभम क्तगमभलत ज्भबतिज क्गचखभथ मा आधारित यो अध्ययन २०१५ मा संकलन गरिएको तथ्यांकमा आधारित थियो र २०१९ मा प्रकाशित भएको हो । अध्ययनमा १३ दशमलव ५९ प्रतिशत विद्यार्थीले आत्महत्याबारे सोचेको र १० दशमलव ३३ प्रतिशतले आत्महत्याको प्रयास गरेको बताएका थिए । चिन्ता, एक्लोपन, खाद्य असुरक्षा र विद्यालयबाट अनुपस्थित हुनेजस्ता अवस्था आत्महत्याको सोच वा प्रयाससँग सम्बन्धित देखिएका थिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सहित विभिन्न संस्थाका अनुसन्धानकर्ताले २०२३ मा प्रकाशित गरेको अर्को अध्ययन भने कर्णालीमै केन्द्रित थियो । सुमन पन्तसहितका अनुसन्धानकर्ताले ग्रामीण कर्णालीका ४ सय २४ किशोरकिशोरीमा गरेको अध्ययनमा १९ दशमलव ८ प्रतिशतमा मध्यम र २ दशमलव ४ प्रतिशतमा उच्च शैक्षिक तनाव देखिएको थियो । छात्रामा शैक्षिक तनावको सम्भावना छात्रको तुलनामा करिब तीन गुणा बढी देखिएको अध्ययनको निष्कर्ष थियो ।

तर जुम्लाका १४ वर्षिय जगदिश विष्टको भने अवस्था फरक रह्यो । आमाको निधनपछि बुवाले अर्को विहे गरेका कारण मानसिक तनावबाट गुज्रिरहेका उनले दुईपटकसम्म स्कुलमा नै झुण्डिने प्रयास गरे । छोराको क्रियाकलापमाथि ध्यान दिइरहेका बुवा धर्मजितले मनको कुरा बुझ्न उनलाई लिएर पोखरा घुम्न गए । ‘मैले एक्ले उसलाई पोखरा लगेर नगएको भए सायद आज उ मदेखि टाढा हुन्थ्यो,’ उनले भने, ‘मैले उसलाई अर्की आमा आएपनि तँलाई उत्तिकै माया गर्छिन् र म पनि कहिल्यै तेरो साथ छोड्दैन, तेरो खुसी नै हाम्रो खुसी हो भनेर धेरै सम्झाएँ, उसलाई मेरो सर्वस्व नै तँ होस् तेरो मम्मीले जस्तै तैँले पनि छोडेर गइस् भने म कसरी बाँच्ने भनेर धेरै सम्झाएँ अहिले उ राम्रोसँग पढिरहेको छ, हामीसँग बस्ने, आफ्नो मनको कुरा भन्ने भएको छ ।’

समस्या देखिएपछि जगदिशको परिवारले उनको व्यवहारमाथि ध्यान दियो र उनीसँग संवाद ग¥यो । अहिले उनी परिवारसँगै छन् र पढिरहेका छन् । यसले किशोरकिशोरीमा देखिने मानसिक समस्या समयमै पहिचान र सहयोग पाउँदा अवस्था फरक हुन सक्ने पक्षलाई देखाउँछ । कर्णालीका किशोरकिशोरीको मानसिक अवस्थाबारे पछिल्लो समय भएका अध्ययनले पनि एक्लोपन, सामाजिक डर र तनावको अवस्था देखाएका छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनस्वास्थ्य विभागका सगुन दर्लामीसहितका अनुसन्धानकर्ताले २०२४ मा वीरेन्द्रनगरका कक्षा ११ र १२ का ४ सय २८ विद्यार्थीमा तथ्यांक संकलन गरी गरेको अध्ययन २०२५ मा प्रकाशित भएको हो । अध्ययनमा २८ दशमलव ८ प्रतिशत विद्यार्थीमा हल्का र २२ दशमलव ४ प्रतिशतमा मध्यम सामाजिक भय देखिएको थियो ।

सामाजिक भय र एक्लोपनबीच सकारात्मक सम्बन्ध तथा आत्मसम्मानसँग नकारात्मक सम्बन्ध देखिएको अध्ययनको निष्कर्ष छ । ३३ दशमलव ६ प्रतिशत विद्यार्थीले आफ्ना सामाजिक सम्बन्ध सतही रहेको बताएका थिए । कर्णालीका ४ सय २४ किशोरकिशोरीमा गरिएको २०२३ को शैक्षिक तनावसम्बन्धी अध्ययन र २०२४ मा वीरेन्द्रनगरका ४ सय २८ विद्यार्थीमा गरिएको सामाजिक भयसम्बन्धी अध्ययनले फरक–फरक पक्ष देखाए पनि दुवै अध्ययनले किशोरावस्थामा मानसिक तथा सामाजिक दबाब रहेको देखाउँछन् ।

यता कर्णाली प्रदेश प्रहरी कार्यालयअनुसार प्रदेशमा पछिल्ला पाँच आर्थिक वर्षमा आत्महत्याबाट ज्यान गुमाउने १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीको संख्या २ सय ८७ पुगेको छ । प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १८ वर्षमुनिका ३४ जनाले आत्महत्या गरेका थिए । २०७९/८० मा पनि ३४ जना थिए । २०८०/८१ मा यो संख्या बढेर ९० पुग्यो । २०८१/८२ मा ५८ र २०८२/८३ मा ७१ जनाले आत्महत्या गरेका छन् । अर्थात् पाँच वर्षको अवधिमा कर्णालीमा आत्महत्या गर्नेमा १८ वर्ष नपुगेका २ सय ८७ जना छन् ।

आर्थिक वर्ष २०८२/८३ को प्रहरी वर्गीकरणमा आत्महत्याका घटनासँग घरेलु हिंसा १ सय १, नैराश्यता ९१ र गरिबी ५७ घटनामा जोडिएको देखिन्छ । मानसिक समस्या १७, आवेगमा आएर १४, प्रेम सम्बन्ध १० र दीर्घरोग ७ घटनामा कारणका रुपमा उल्लेख छन् । प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीका अनुसार आत्महत्याको प्रयास गरेर अस्पताल आउने बिरामीमा विभिन्न उमेर समूहका व्यक्ति छन् । विषादी सेवन, औषधिको अत्यधिक सेवन, आफूलाई चोट पु¥याउनेलगायतका प्रयासपछि उपचारका लागि आउने बिरामीलाई उपचारपछि मानसिक स्वास्थ्य सेवासँग जोड्ने गरिएको उनले बताए ।

‘परामर्श गरेका धेरैजसो केसमा उदासीपन, डर, चिन्ता, तनाव, सम्बन्धमा समस्या र आफूले भनेका कुरा पूरा नभएको अवस्थाबाट आत्महत्याको प्रयास गरेको पाउँछौँ,’ डा. समदर्शीले भने । किशोरकिशोरीमा परिवारबाट टाढा बस्नुपर्ने अवस्था, पढाइको समस्या, सम्बन्धमा समस्या, मनको कुरा व्यक्त गर्न नसक्नु, तनाव व्यवस्थापन गर्न नसक्नु र आवेगपूर्ण निर्णयजस्ता अवस्था देखिने गरेको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा परामर्श गरिएका केसको अनुभवमा करिब ८० देखि ९० प्रतिशतमा कुनै न कुनै मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको छ । अस्पतालमा दैनिक तीनदेखि पाँच जनासम्म विषादी सेवन, आफूलाई चोट पु¥याउने वा आत्महत्याको प्रयासपछि आउने गरेको उनको उपचार अनुभव छ । यो औपचारिक अस्पताल तथ्यांक नभई चिकित्सकको अनुभवमा आधारित संख्या हो ।

डा. समदर्शीका अनुसार घरेलु, यौन तथा लैंगिक हिंसाका घटना धेरैपटक बाहिर नआउने र पीडितले समस्या गुम्साएर राख्ने अवस्थाले पनि मानसिक समस्या बढाउन सक्ने भन्दै मानसिक रोगको उपचार सम्भव भएको र आफुहरुकहाँ निःशुल्क परामर्श रहेको भन्दै नडराउन आग्रह गरे । किशोरकिशोरीमा समयमै समस्या पहिचान गर्न नसक्दा अवस्था गम्भीर बन्न सक्ने भएकाले वरपरका आफन्तले कसैले केही भन्न खोजेको खण्डमा सुनेर उपचारका लागि सुझाउन पनि सुझाव दिए । ‘समाचारमा आत्महत्याका घटनाहरू अलिकति ग्लोरिफाइ भएर आउँदा एउटै प्रकृतिका घटनाको अनुकरण हुने जोखिम हुन्छ,’ उनले भने ।

के गर्दैछ प्रदेश सरकार ?

कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्रदेशको स्वास्थ्य कार्यक्रमभित्र समेटेर विभिन्न काम गर्दै आएको छ । प्रदेशले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना २०७९–२०८७’ बनाएर मानसिक स्वास्थ्यलाई स्थानीय तहसम्म लैजाने नीति अघि सारेको छ । त्यसअनुसार स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक तथा समुदायसँग मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण र अन्तरक्रिया सञ्चालन हुँदै आएका छन् ।

सामाजिक विकास मन्त्रालयका मानसिक स्वास्थ्य फोकल पर्सन खगेन्द्रप्रकाश गैरेका अनुसार आर्थिक वर्ष २०७९/८० देखि प्रदेशका ७९ स्थानीय तहमध्ये ४३ स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भइसकेका छन् । स्थानीय तहका पदाधिकारी तथा स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिने काम पनि भइरहेको उनले बताएका छन् । प्रदेश सरकारले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना र अभिमुखीकरण कार्यक्रमका लागि विभिन्न वर्षमा बजेट विनियोजन गर्दै आएको छ । गैरेका अनुसार यसपटक स्थानीय तह तथा विद्यालयस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘यसपटक बजेट निकै कम विनियोजन भएको छ,’ गैरेले भने ।

प्रदेश सरकारले स्वास्थ्यकर्मीको क्षमता विकासमा पनि काम गरेको छ । सार्वजनिक विवरणअनुसार करिब ६ सय स्वास्थ्यकर्मीलाई ‘कन्भर्जन डिसअर्डर’ सम्बन्धी तालिम दिइएको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम कर्णालीका १० वटै जिल्लामा विस्तार गरिएको प्रदेश सरकारको भनाइ छ । स्वास्थ्य सेवा निर्देशनालयको वार्षिक प्रतिवेदनमा पनि किशोरकिशोरीको स्वास्थ्यलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन भइरहेको उल्लेख छ । कर्णालीमा १ सय २३ वटा किशोरमैत्री स्वास्थ्य संस्था सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

मनोविद् लक्ष्मी तामाङले पछिल्लो समय मानिसको जीवनशैली र बसाइँसराइ तथा जीवनयापनको अवस्थामै आएको परिवर्तनले मानसिक स्वास्थ्यका चुनौती बढाउन सक्ने उनको भनाइ सार्वजनिक भएको छ । उनले परिवार र विद्यालयले बालबालिकाको मानसिक तथा भावनात्मक अवस्थामा आउने परिवर्तनलाई बुझ्नुपर्नेमा जोड दिएकी छन् ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार