२०८३ असोज १४ , बुधबार
फ्रन्ट पेज

वीरेन्द्रनगरमा ट्राफिकको अटो अपरेशनः एकै दिन १४ अटो नियन्त्रणमा



सुर्खेत । केही दिनदेखि वीरेन्द्रनगरमा रहेका अटो चालकमाथि ट्राफिक प्रहरीले निगरानी राखिरहेका थिए । वीरेन्द्रनगरका विभिन्न स्थानमा जानका लागि अटोमा यात्रु बनेर चढेका व्यक्ति ट्राफिक प्रहरी हुन् भन्ने चालकलाई थाहा थिएन । गन्तव्य बताएपछि चालकले भाडा मागे । यात्रु बनेका प्रहरीले चालकले मागेको भाडा र उक्त दूरीका लागि तोकिएको भाडा तुलना गरे । चालक र सादा पोशाकमा रहेका ट्राफिक प्रहरीबिचको कुराकानी रेकर्ड पनि भइरह्यो । तोकिएकोभन्दा बढी भाडा मागेको पाइएपछि अटो नियन्त्रणमा लिइयो ।

नगर क्षेत्रमा चल्ने अटोले यात्रुसँग मनपरी भाडा असुल्ने, गन्तव्यअनुसार सेवा दिने वा नदिने, तीव्र गतिमा चलाउने तथा यात्रुसँग असहज व्यवहार गर्ने गुनासा बढेपछि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले सोमबारदेखि अटोमाथि विशेष अपरेशन थालेको हो । कार्यालयले सादा पोसाकका प्रहरीलाई यात्रु बनाएर अटोको भाडा, चालकको व्यवहार र ट्राफिक नियम पालनाको अवस्था परीक्षण गर्न थालेको छ ।

अभियानको पहिलो दिनमै १४ वटा अटो नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । तोकिएको भाडाभन्दा बढी रकम माग गरेको पाइएपछि ती अटो नियन्त्रणमा लिइएका हुन् । नियन्त्रणमा लिइएका चालकलाई नियमबारे सम्झाइबुझाइ गर्नुका साथै आगामी दिनमा त्यस्तो नगर्ने प्रतिबद्धतासहित कागज गराएर छाडिएको कार्यालयले जनाएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालका अनुसार नगर क्षेत्रमा सञ्चालन हुने अटोका विषयमा नागरिकबाट लगातार गुनासा आएपछि यस्तो निगरानीको योजना बनाइएको हो ।

यात्रुले तोकिएकोभन्दा बढी भाडा तिर्नुपरेको, अटो चालकले आफूखुसी यात्रु लिने वा नलिने गरेको, छोटो दूरीका यात्रुलाई गन्तव्यसम्म लैजान आनाकानी गर्ने, तीव्र गतिमा चलाउने र यात्रुसँग राम्रो व्यवहार नगर्ने गुनासा आएको उनले बताए । ‘तोकिएको भाडाभन्दा बढी भाडा असुल्ने, ओभरस्पिडमा चलाउने, व्यवहार नराम्रो गर्ने, आफूलाई मन परेको ठाउँमा जाने अथवा मन नपरेको ठाउँमा नजानेजस्ता गुनासा प्राप्त भएपछि हामीले अटोहरुलाई निगरानी गर्ने योजना बनाएका हौं,’ एसपी रिजालले भने ।

उनका अनुसार प्रदेश ट्राफिक प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । उनीहरुले सर्वसाधारण यात्रुजस्तै भएर अटो चढ्ने र चालकले मागेको भाडा तोकिएको दरसँग तुलना गर्ने गरेका छन् । यस क्रममा चालकलाई आफू ट्राफिक प्रहरीको निगरानीमा रहेको जानकारी हुँदैन । ‘उहाँहरु ग्राहक बनेर जाने र पार्किङमा रहेका अटोहरुलाई कुनै निश्चित स्थानमा जाऊँ भन्नुहुन्छ,’ एसपी रिजालले भने, ‘त्यो क्षेत्रको भाडा कति हो र उसले त्यसभन्दा कति बढी भन्यो भन्ने कुरा यकिन गरेर कारबाही गर्ने गरेका छौं ।’

नियमित चेकजाँचभन्दा फरक विधि

ट्राफिक प्रहरीले नियमित रुपमा सडकमा अटोको चेकजाँच गर्दा चालकले आफू निगरानीमा रहेको थाहा पाउने भएकाले वास्तविक अवस्था पहिचान गर्न कठिन हुने गर्छ । विशेषगरी भाडा असुलीको विषयमा चालकले प्रहरी देखेपछि तोकिएको भाडा लिने तर अन्य समयमा बढी रकम असुल्ने सम्भावना हुने भएकाले सादा पोसाकमा यात्रु बनेर अनुगमन गर्ने विधि अपनाइएको कार्यालयले जनाएको छ ।

यात्रु बनेर अटोभित्रैबाट सेवा परीक्षण गर्दा चालकले यात्रुसँग कस्तो व्यवहार गर्छ, तोकिएको भाडा लिन्छ कि बढी रकम माग गर्छ, यात्रुले भनेको गन्तव्यमा जान तयार हुन्छ कि हुँदैन भन्ने विषय प्रत्यक्ष रुपमा परीक्षण गर्न सकिने प्रहरीको भनाइ छ ।

विशेषगरी नगर क्षेत्रमा छोटो दूरीको सार्वजनिक यातायातका रूपमा अटोको प्रयोग बढ्दै गएको छ । सार्वजनिक बसको तुलनामा सहज रूपमा घर तथा गन्तव्य नजिक पुग्न सकिने भएकाले विद्यार्थी, कर्मचारी, ज्येष्ठ नागरिक तथा अन्य यात्रुको अटोप्रतिको निर्भरता बढेको छ । यात्रुको संख्या बढेसँगै अटोको व्यवस्थापन र नियमनको आवश्यकता पनि बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

तर, छोटो दूरीको सार्वजनिक यातायातका रुपमा अटोको प्रयोग बढ्दै जाँदा त्यससँग सम्बन्धित गुनासा पनि बढिरहेका छन् । एउटै दूरीमा फरक–फरक चालकले फरक भाडा माग्ने, यात्रु हेरेर गन्तव्यमा जाने वा नजाने, यात्रुलाई बीच बाटोमै ओराल्ने, सडकको जहाँ पायो त्यहीँ अटो रोक्ने तथा तीव्र गतिमा चलाउनेजस्ता समस्या देखिने गरेका छन् ।
तोकिएको भाडाभन्दा बढी रकम माग्ने प्रवृत्तिले यात्रुलाई प्रत्यक्ष आर्थिक भार पार्ने गरेको छ । एउटै दूरीमा फरक–फरक भाडा तिर्नुपर्ने अवस्था हुँदा यात्रुले आफूले तिर्नुपर्ने वास्तविक भाडाबारे अन्योलसमेत बेहोर्नुपर्छ । त्यसैले ट्राफिक प्रहरीले पहिलो चरणमा भाडा असुलीको विषयलाई निगरानीको मुख्य आधार बनाएको हो ।

एक सातासम्म अभियान

एसपी रिजालका अनुसार यो अभियान तत्कालका लागि करिब एक सातासम्म सञ्चालन गरिनेछ । अटोबाट हुने मनपरी भाडा असुली रोक्नुका साथै यात्रुको सुरक्षित र सहज यात्रालाई बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए । ‘यो अभियान हामी निरन्तर रूपमा एक हप्ताजति सञ्चालन गर्नेछौं,’ रिजालले भने, ‘विशेषगरी अटोको बेथिति र आफूखुसी भाडा असुल्ने प्रवृत्तिलाई रोक्न तथा सुरक्षित यात्रालाई बलियो बनाउन अभियान चलाइएको हो ।’

उनका अनुसार अभियानको क्रममा संकलन हुने विवरणका आधारमा अटो सञ्चालनमा देखिएका समस्या र चालकको व्यवहारको अवस्था पहिचान गरिनेछ । त्यसपछि आवश्यकताअनुसार निगरानी र नियमनलाई थप प्रभावकारी बनाउने तयारी छ । ट्राफिक प्रहरीका अनुसार अभियानको उद्देश्य धेरैभन्दा धेरै अटो नियन्त्रणमा लिएर कारबाही गर्नु होइन । चालकलाई नियम पालना गराउने, यात्रुलाई तोकिएको भाडामै सेवा उपलब्ध गराउने र सार्वजनिक यातायातलाई सुरक्षित तथा व्यवस्थित बनाउने मुख्य उद्देश्य रहेको रिजालले बताए । ‘हाम्रो उद्देश्य अटो धेरै नियन्त्रणमा लिनु मात्र होइन । चालकलाई नियम पालना गराउने र यात्रुलाई सुरक्षित तथा सहज सेवा उपलब्ध गराउनु पनि हो,’ उनले भने ।

ट्राफिक प्रहरीले अटो चालकलाई तोकिएको भाडामै यात्रु बोक्न, यात्रुसँग मर्यादित व्यवहार गर्न, तोकिएको स्थानमा मात्र सवारी रोक्न तथा सडक र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ । यात्रुले पनि तोकिएकोभन्दा बढी भाडा मागेमा, गन्तव्यमा जान अस्वीकार गरेमा वा चालकले अन्य ट्राफिक नियम उल्लंघन गरेमा सम्बन्धित ट्राफिक प्रहरीलाई जानकारी गराउन सक्ने कार्यालयले जनाएको छ ।

अटो चालकको मनपरी रोक्न नियमित निगरानीसँगै यात्रुको गुनासो पनि महत्वपूर्ण हुने प्रहरीको भनाइ छ । यात्रुले आफूले भोगेको समस्या तत्काल जानकारी गराएमा त्यस्ता चालक र अटोमाथि आवश्यक कारबाही गर्न सहज हुने कार्यालयले जनाएको छ । एक सातासम्म सञ्चालन हुने अभियानबाट नगर क्षेत्रमा चल्ने अटोको भाडा असुली, चालकको व्यवहार, गति र ट्राफिक नियम पालनाको अवस्थाबारे थप तथ्य प्राप्त हुने अपेक्षा गरिएको छ । अभियानबाट प्राप्त विवरणका आधारमा आगामी दिनमा अटो व्यवस्थापन तथा ट्राफिक निगरानीलाई थप प्रभावकारी बनाउने प्रहरीको तयारी छ ।

अटो छोटो दूरीका यात्रुका लागि महत्वपूर्ण सार्वजनिक यातायातको साधन बन्दै गएको अवस्थामा त्यसको सेवा पनि यात्रुमैत्री र नियमसम्मत हुनुपर्ने देखिन्छ । यात्रुले पनि तोकिएको भाडा र नियमबारे जानकारी राख्ने तथा समस्या परेमा सम्बन्धित निकायमा गुनासो गर्ने हो भने अटो सञ्चालनमा देखिएका बेथिति न्यूनीकरण गर्न सहयोग पुग्नेछ । एसपी रिजालले नगरपालिकासँग समन्वय गरी अटोभाडामा एकरुपता ल्याउनका लागि पहल गरिने बताए ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले सुरक्षित सडक अभियानअन्तर्गत अन्य विभिन्न कामहरु गर्दै आएको छ । अटोमाथिको निगरानीसँगैसवारीको गति परीक्षण, मापसे जाँच, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि निगरानी, दुर्घटना बढी हुने स्थानको पहिचान, ट्राफिक संकेत तथा सचेतनामूलक बोर्ड राख्ने, चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलगायतका काम गर्दै आएको छ । कर्णालीमा दुर्घटना बढी हुने ६५ वटा स्थानसमेत पहिचान गरी सडक सुरक्षाका लागि सम्बन्धित निकायलाई सुधारका लागि सुझाव दिइएको छ ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार