२०८३ मंसिर ७ , सोमबार

संवैधानिक इजलासमा विवाद, प्रतिरोधमा उत्रने बारको चेतावनी



काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलास गठनको विषयलाई लिएर न्यायाधीशहरूबीच असहमति देखिएपछि इजलास बस्न सकेन।

दैनिक पेसी सूची प्रकाशन भइसकेपछि पनि इजलास सञ्चालन हुन नसकेको हो। बुधबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान सम्मिलित संवैधानिक इजलास तोकिएको थियो। प्रधानन्यायाधीशमा शर्मा नियुक्त भएपछि न्यायाधीश फुयाँललाई संवैधानिक इजलासमा राखिएको थिएन। तर बुधबार उनलाई इजलासमा तोकिएपछि फुयाँलले असन्तुष्टि जनाएका थिए। उनको असहमतिका कारण इजलास बस्न नसकेको इजलासका एक सदस्यले बताएका छन्।

पछिल्लो समय संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशले रोस्टर सूचीबाट आफ्नो स्वविवेक प्रयोग गर्दै आएको भन्दै नेपाल बार एसोसिएसनले प्रश्न उठाउँदै आएको छ। विषयअनुसार न्यायाधीश छनोट गरेर इजलास गठन गरिएको आरोपसमेत बारले लगाउँदै आएको छ। बारले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट गठन गर्नुपर्ने माग यसअघि नै लिखित रूपमा राखिसकेको छ।

प्रतिरोधमा उत्रने बारको चेतावनी

संवैधानिक इजलास गठनको विवादप्रति ध्यानाकर्षण जनाउँदै नेपाल बार एसोसिएसनले पुनः वरिष्ठता वा गोलाप्रथाबाट इजलास गठन गर्न माग गरेको छ। बारका महासचिव केदार कोइरालाले जारी गरेको विज्ञप्तिमा इजलास गठनलाई प्रधानन्यायाधीशको व्यक्तिगत तजबिजको विषय बनाइएको भन्दै आपत्ति जनाइएको छ। बारले संवैधानिक इजलास कुनै व्यक्तिको निजी रोजाइको सूची नभएको र न्यायाधीश छनोट गर्ने व्यक्तिगत विशेषाधिकारको क्षेत्र पनि नभएको जनाएको छ। स्पष्ट, वस्तुगत र पूर्वनिर्धारित मापदण्डबिना गरिने स्वेच्छिक छनोटले न्यायिक निष्पक्षतामाथि मात्र नभई न्यायपालिकाको संस्थागत विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न उठाउने बारको भनाइ छ।

बारले विगतमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वेच्छाचारी रूपमा इजलास गठन गरेको भन्दै आफूहरू आन्दोलनमा उत्रनुपरेको प्रसंगसमेत स्मरण गराएको छ। न्यायपालिका व्यक्तिको इच्छा, सुविधा, स्वेच्छा वा तजबिजमा नभई नियम, निष्पक्ष पद्धति र संस्थागत मर्यादाका आधारमा सञ्चालन हुनुपर्ने बारले जनाएको छ। संवैधानिक इजलास गठनसम्बन्धी मापदण्डविहीन अभ्यास अन्त्य गर्नुपर्ने माग गर्दै बारले वरिष्ठता वा गोलाप्रथाको व्यवस्था संवैधानिक इजलासमा समेत लागू गर्न आग्रह गरेको छ। बारले आफ्ना माग सम्बोधन नभए संस्थागत रूपमा प्रतिरोधमा उत्रने स्पष्ट चेतावनी दिएको छ। यसले आगामी दिनमा संवैधानिक इजलास गठनको विषयलाई लिएर बार र सर्वोच्च अदालतबीच थप विवाद बढ्न सक्ने संकेत गरेको छ।

सिफारिसमा पनि बारको असन्तुष्टि

संवैधानिक इजलास गठनको विषयसँगै सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको सिफारिसलाई लिएर पनि नेपाल बार एसोसिएसनले असन्तुष्टि जनाएको छ। बारले संवैधानिक व्यवस्थाअनुसार नियुक्तिमा कानुन व्यवसायीको क्लस्टरलाई बेवास्ता गरिएको तथा समावेशी सिद्धान्तसमेत पर्याप्त रूपमा पालना नभएको जनाएको छ। बारले संविधानको धारा १२९(५) अनुसार कानुन व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने र धारा ४२ को समावेशी व्यवस्थालाई समेत आत्मसात् गर्नुपर्ने बताएको छ। न्यायाधीश नियुक्तिको सिफारिसमा वस्तुनिष्ठ आधार र पारदर्शिताको अभाव रहेको भन्दै बारले निर्णयप्रति असन्तुष्टि जनाएको हो।

न्याय परिषद्ले मंगलबार उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। उक्त सिफारिसमा वरिष्ठता क्रम मिचिएको भन्दै परिषद्का दुई सदस्यले फरक मत लेखेका छन्। परिषद् सदस्य सपना प्रधान मल्ल र महेश नेपालले जनक पाण्डे र गोकर्ण डाँगीको सिफारिसमा असहमति जनाउँदै फरक मत राखेका हुन्।

संवैधानिक इजलास गठनमा देखिएको विवाद, बारको प्रतिरोधको चेतावनी तथा सर्वोच्च अदालतका लागि गरिएको न्यायाधीश सिफारिसमाथि उठेको प्रश्नले अहिले न्यायपालिकामा पारदर्शिता, वरिष्ठता, समावेशिता र निष्पक्ष प्रक्रियाको विषयलाई थप गम्भीर बनाएको छ। :::

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार