२०८३ असोज २३ , शुक्रबार

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको ‘कमब्याक’, अध्यक्ष ओलीले गराए शपथ



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को वरिष्ठ नेताको जिम्मेवारीमा फर्किनुभएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टीको स्थायी कमिटी बैठकका क्रममा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। शपथ ग्रहण गरेसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नुभएको छ। राष्ट्रपति पदमा रहँदा उहाँ दलीय राजनीतिबाट अलग रहनुभएको थियो। राष्ट्रपति पदको कार्यकाल पूरा भएपछि भने उहाँको आगामी राजनीतिक भूमिकालाई लिएर विभिन्न चर्चा र अड्कलबाजी हुँदै आएको थियो।

अन्ततः एमालेले उहाँलाई वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन भएको हो। पार्टीको उच्च तहमा उहाँको प्रवेशलाई एमालेभित्रको आगामी राजनीतिक गतिविधि र संगठनात्मक समीकरणका दृष्टिले समेत चासोका साथ हेरिएको छ। भण्डारी यसअघि नेकपा (एमाले)को उपाध्यक्ष हुनुहुन्थ्यो। एमालेको सक्रिय राजनीतिमा रहँदै गर्दा उहाँ २०७२ सालमा नेपालको राष्ट्रपति निर्वाचित हुनुभएको थियो। राष्ट्रपति बनेपछि संवैधानिक भूमिकाअनुसार उहाँ पार्टीको जिम्मेवारीबाट अलग हुनुभएको थियो।

राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि पुनः पार्टी राजनीतिमा फर्किनुभएकी भण्डारीलाई एमालेले वरिष्ठ नेताको जिम्मेवारी दिएको हो। भण्डारीको पुनरागमनसँगै एमालेको आन्तरिक राजनीति र आगामी राजनीतिक गतिविधिमा यसको प्रभावबारे पनि चासो बढेको छ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार