काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता तथा नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएको हो।
सरकारी वकिल कार्यालयले खेलकुद विकास ऐन, २०७७ को दफा ३३(ग) र मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३(क) अनुसार कारबाहीको माग गर्दै मुद्दा अघि बढाएको जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानबाट एन्फाको नेतृत्व तहमा विभिन्न विषयमा अनियमितता भएको निष्कर्ष निकालिएपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो।
सीआईबीको अनुसन्धान प्रतिवेदनअनुसार सन् २०२४ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच हुने खेल नेपालमा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना गर्न एन्फा नेतृत्वको भूमिका रहेको आरोप लगाइएको छ। प्रतिवेदनमा दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य हुने अवस्था सिर्जना गरिएको र एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदानमा खेल सञ्चालन गर्न निर्देशन दिनुअघि नै महासचिव राईले बहराइनमा खेल खेलाउने सम्झौता गरेको उल्लेख छ।
त्यस्तै, बहराइन फुटबल संघबाट टिकट बिक्रीबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको तथा खेलका लागि बहराइनका खेलाडी र पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम एन्फाको खातामा जम्मा भएको विषय पनि अनुसन्धान प्रतिवेदनमा समेटिएको छ।
सीआईबीले केल्मी ब्रान्डका खेल सामग्री खरिद प्रक्रियामा समेत अनियमितता भएको निष्कर्ष निकालेको छ। १० लाख रुपैयाँभन्दा बढीको खरिदमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने व्यवस्था पालना नगरिएको र खरिद प्रक्रियामा सहभागी तीन कम्पनी एउटै स्वामित्वअन्तर्गत रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपसमितिको प्रतिवेदनमा उल्लेख छ।
अनुसन्धान प्रतिवेदनअनुसार पछिल्ला साढे तीन वर्षमा एन्फाले करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद गरेको थियो। ती सामग्रीको खरिद तथा वितरण प्रक्रियामा समेत अनियमितता भएको आशंका गरिएको छ। यसैगरी, फिफाबाट प्राप्त विश्वकपका ३३० अनलाइन टिकटको वितरण तथा बिक्रीमा पारदर्शिता नदेखिएको र शेर्पा आउटडुअरसँगको खेल सामग्री खरिद तथा प्रायोजन रकममा पनि अनियमितता भएको सीआईबीको निष्कर्ष छ।
मुद्दा दायर गरिएका चार जनामध्ये कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे सीआईबीको नियन्त्रणमा छन्। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अनुमति दिन सरकारी वकिल कार्यालयले अदालतसमक्ष अनुरोध गरेको छ। सीआईबीको अनुसन्धानले एन्फाका पदाधिकारीले सम्बन्धित मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को अनुमति नलिई सम्झौता गर्ने, विदेश भ्रमणमा टोली लैजाने तथा खरिद प्रक्रियामा अनियमितता गर्ने कार्यमा संलग्न रहेको निष्कर्ष निकालेको थियो। यस प्रकरणमा अदालतमा मुद्दा दायर भएसँगै एन्फाको नेतृत्वमाथि लगाइएका आर्थिक अनियमिततासम्बन्धी आरोप अब न्यायिक प्रक्रियामा प्रवेश गरेका छन्। आरोप प्रमाणित भएमा सम्बन्धित कानुनअनुसार कारबाही हुन सक्नेछ।








