म्याग्दी । बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ।
सडकमा भएको ठूलो क्षतिका कारण तत्काल सबै प्रकारका सवारीसाधन सहज रूपमा सञ्चालन गर्न कठिनाइ भएको हो। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकका विभिन्न खण्डमा क्षति पुर्याएको थियो। सडकका ५० स्थानमा पहिरो खसेको तथा १० स्थानमा कालीगण्डकी नदीको कटानले सडक बगाएको थियो।
सडक योजना प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सडक तथा पुलको पहुँचमार्ग निर्माणको काम पूरा भएपछि बिहीबार साँझ अत्यावश्यक सवारीसाधन सञ्चालन गरिएको छ। यद्यपि, सडकको पूर्ण मर्मत र स्तरोन्नतिको काम अझै बाँकी छ।
पहिरो पन्छाउने, भासिएका तथा कटान भएका स्थानमा माटो भर्ने, सडकको सतह मिलाउने र पानी निकासका संरचना निर्माण गर्नुपर्ने भएकाले तत्काल नियमित यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहने शर्माले बताउनुभयो। उहाँका अनुसार आइतबारसम्म मर्मतकार्य पूरा गरी सोमबारदेखि यातायात सञ्चालन गर्ने योजना बनाइएको छ।
कालीगण्डकी नदीको कटान र पहिरोका कारण केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता र खहरेखोलालगायत क्षेत्र बढी प्रभावित भएका छन्। म्याग्दी खण्डको ३३ किलोमिटर सडकमध्ये २० किलोमिटरभन्दा बढी भागमा क्षति पुगेको संघीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो।
सुवेदीका अनुसार बाढीपहिरोबाट सडकमा करिब ९० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। सडकलाई नयाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न थप तीन अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। अत्यधिक वर्षा, कमजोर भौगोलिक अवस्था, सहायक नदीमा आएको बाढी तथा नदी किनारमा थुप्रिएको निर्माणजन्य सामग्रीले क्षति बढाएको उहाँको भनाइ छ।
सडक अवरुद्ध हुँदा कोरलानाकाबाट आयात गरिएका सामान ढुवानीमा समेत समस्या भएको छ। दसैँलाई लक्षित गरी आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर म्याग्दी र मुस्ताङका विभिन्न स्थानमा रोकिएका छन्। मुस्ताङको स्याउ तथा आलु बजारसम्म पुर्याउने काम र पर्यटकीय गतिविधिमा समेत असर पर्ने देखिएको छ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार सडक सञ्चालनलाई व्यवस्थित बनाउन अत्यावश्यक सेवा, मालवाहक सवारीसाधन, स्थानीय यातायात र पर्यटकका सवारीसाधनलाई प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ। साँघुरा तथा जोखिमयुक्त स्थानमा सवारी जाम हुन नदिन सुरक्षाकर्मी परिचालन गर्ने विषयमा समेत छलफल भएको छ।
सडकको अवस्था पूर्ण रूपमा सहज नभएसम्म मुस्ताङ भ्रमणमा जाने पर्यटकलाई आफ्नो यात्रा केही दिनका लागि पछि सार्न प्रशासनले अनुरोध गरेको छ। म्याग्दी र मुस्ताङका सुरक्षा निकाय तथा सम्बन्धित अधिकारीहरूले सडकको स्थलगत अनुगमन गरी यातायात सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउने तयारी गरेका छन्।
कोरलानाकालाई चीनसँग जोड्ने प्रमुख व्यापारिक मार्गका रूपमा विकास गर्ने सरकारी योजनाका लागि बेनी–जोमसोम–कोरला सडक महत्त्वपूर्ण मानिन्छ। त्यसैले सडकको तत्काल मर्मतसँगै दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो यातायात सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखिएको छ।








