२०८३ असोज २३ , शुक्रबार

बूढानीलकण्ठमा भाडाको घरबाट सुनको अवैध कारोबार, तीन चिनियाँ नागरिक पक्राउ



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा भाडाको घर प्रयोग गरी सुनको अवैध कारोबार भइरहेको खुलेको छ।

प्रहरीले बिहीबार छापा मारेर उक्त घरबाट करिब २१ किलो ७५० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकले अमेरिका बस्दै आएका विष्ट थरका व्यक्तिको घर गत साउनदेखि भाडामा लिएर कारोबार सञ्चालन गर्दै आएका थिए। उक्त घरको मासिक भाडा तीन लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको थियो। उनीहरूले चार महिनाको भाडा अग्रिम रूपमा घरधनीलाई बुझाएको प्रहरी स्रोतले जनाएको छ।

घर भाडामा लिएर अवैध रूपमा सुनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा २१ किलो ७५०.६८ ग्राम सुन तथा कारोबारमा प्रयोग हुने विभिन्न मेसिन र उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका चिनियाँ नागरिकमध्ये एक जना सुरुमा नेपाल आएर यहाँको बजार तथा कारोबारको अवस्थाबारे जानकारी लिई चीन फर्किएका थिए। त्यसपछि समूहका अन्य दुई सदस्य पनि नेपाल आएका थिए।

नेपाल आएपछि उनीहरू पटक–पटक विमानस्थलबाट आवतजावत गरेको प्रारम्भिक जानकारी प्राप्त भएको स्रोतले जनाएको छ। उनीहरूको नेपाल आगमन, सुनको स्रोत, कारोबारको प्रकृति तथा यसमा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

भाडाको घरमा ठूलो परिमाणमा सुन र कारोबारमा प्रयोग हुने उपकरण फेला परेपछि प्रहरीले घटनालाई थप गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ। बरामद सुनको स्रोत र अवैध कारोबारको सञ्जालबारे अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार