२०८३ असोज २३ , शुक्रबार

श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कारबाही हुने



काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

कानुनअनुसार पाउनुपर्ने सुविधा नदिएको भन्दै गुनासो आउन थालेपछि विभागले यस्तो निर्देशन दिएको हो। श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार रोजगारदाताले श्रमिकलाई प्रत्येक वर्ष चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने हुन्छ।

विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई कानुनबमोजिमको चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो प्राप्त भइरहेको छ। विभागले सबै रोजगारदातालाई कानुनी प्रावधान पालना गर्न निर्देशन दिएको उहाँले बताउनुभयो। प्रवक्ता गोपले चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता तथा प्रतिष्ठानमाथि श्रम ऐनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभएको छ। श्रमिकको अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई कानुनको पालना गर्न विभागले आग्रह गरेको छ।

चाडपर्व खर्च नपाएका श्रमिक तथा कामदारले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। विभागले श्रमिकका गुनासा, उजुरी तथा सुझाव इमेलमार्फत पनि पठाउन सकिने जनाएको छ। यसका लागि क्यूआर कोडको व्यवस्थासमेत गरिएको छ।

चाडपर्वका बेला श्रमिकलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले कानुनमा व्यवस्था गरिएको सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने विभागको जोड छ। रोजगारदाताले कानुनी दायित्व पूरा गरेमा श्रमिकको अधिकार संरक्षण हुनुका साथै चाडपर्वका समयमा उनीहरूलाई आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार