भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालको आर्थिक समृद्धि, कृषि विकास र ऊर्जा उत्पादनसँग जोडिएको राष्ट्रिय महत्वको परियोजना हो । भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाको हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने तथा विद्युत् उत्पादन गर्ने यस आयोजनाले देशको कृषि अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तर, यति धेरै सम्भावना बोकेको राष्ट्रिय गौरवको आयोजना निर्माणमा देखिएको सुस्तताले गम्भीर प्रश्न खडा गरेको छ ।

आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न सकिनेछ । वर्षायाममा मात्र नभई अन्य समयमा पनि खेती गर्न सहज हुनेछ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता कम हुनेछ भने कृषि उत्पादन र उत्पादकत्व बढ्नेछ । यसबाट खाद्यान्न उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, किसानको आम्दानीमा सुधार र रोजगारी सिर्जनामा योगदान पुग्नेछ । त्यस्तै, ४८.८ मेगावाट विद्युत् उत्पादनले राष्ट्रिय ऊर्जा प्रणालीमा थप सहयोग पु¥याउनेछ । यसरी हेर्दा यो आयोजना एउटा क्षेत्रको विकासमा मात्र सीमित नभई देशको समग्र आर्थिक समृद्धिसँग जोडिएको छ ।
यति महत्वपूर्ण आयोजना समयमै सम्पन्न हुन नसक्नु दुर्भाग्यपूर्ण हो । सुरुङ निर्माणमा उल्लेखनीय सफलता हासिल भए पनि बाँध, विद्युत्गृह र अन्य संरचना निर्माणमा अपेक्षित गति नदेखिनुले आयोजना व्यवस्थापन र सरकारी कार्यशैलीमाथि प्रश्न उठाएको छ । राष्ट्रिय गौरवका आयोजना घोषणा गर्नु मात्रै पर्याप्त हुँदैन, तिनलाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यवहारमा देखिनुपर्छ ।
आयोजनामा प्राविधिक जनशक्तिको अभाव, निर्माण व्यवस्थापनका समस्या र कामको सुस्त गतिलाई सामान्य रूपमा लिन मिल्दैन । सरकारले ढिलाइका कारण पहिचान गरी जिम्मेवार निकायलाई जवाफदेही बनाउनुपर्छ । आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्ने, निर्माण व्यवसायीको नियमित अनुगमन गर्ने र स्पष्ट समयसीमासहित काम अघि बढाउनेतर्फ विशेष ध्यान दिनुपर्छ । राष्ट्रिय गौरवका आयोजना वर्षौंसम्म अधुरै रहँदा राज्यको लगानी निष्क्रिय हुन्छ र जनताले अपेक्षित लाभ पाउन सक्दैनन् । त्यसैले भेरी–बबई डाइभर्सनलाई प्राथमिकतामा राखेर निर्माण कार्य तीव्र गतिमा अघि बढाउन आवश्यक छ ।








