काठमाडौं । सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधान कार्यान्वयनको अवस्था बुझ्न देशभर अनुगमन तथा निरीक्षण गर्ने भएको छ।
यसअघि दोलखा र रामेछापमा अनुगमन सम्पन्न गरेको सरकारले अब क्रमशः सबै जिल्लामा अनुगमन विस्तार गर्ने तयारी गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले शुक्रबार सिंहदरबारमा आयोजित प्रेस ब्रिफिङमा महासन्धि कार्यान्वयनको अवस्थाबारे सबै जिल्लामा अनुगमन गरिने जानकारी दिनुभयो।
सरकारले कारागार तथा हिरासतमा रहेका कैदीबन्दी र थुनुवाको मानव अधिकार अवस्थाबारे समेत अनुगमन गरेको छ। धनकुटा, सुनसरी र मोरङका विभिन्न कारागार तथा हिरासतमा गरिएको निरीक्षणका क्रममा कैदीबन्दी र थुनुवाको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको प्रवक्ता अर्यालले बताउनुभयो।
यसैबीच, सरकारले सिंहदरबारस्थित मन्त्रालय तथा मन्त्रालय परिसरमा सरसफाइ सप्ताह सञ्चालन गरेको छ। असोज २२ देखि २८ गतेसम्म सञ्चालन हुने अभियानलाई प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा सरसफाइसम्बन्धी गतिविधिको अनुगमन गर्ने जिम्मेवारीसहित एक जना सम्पर्क व्यक्ति तोकिएको छ।
प्रवक्ता अर्यालका अनुसार मन्त्रालयहरूलाई सरसफाइका गतिविधिको नियमित अनुगमन तथा निरीक्षण गरी त्यसको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउन निर्देशन दिइएको छ। सरसफाइ अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयहरूले तोकिएका सम्पर्क व्यक्तिमार्फत काम अघि बढाउनेछन्।
सरकारले नागरिकका गुनासा सम्बोधन गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो। भ्रष्टाचार नियन्त्रण, मानव अधिकारको संरक्षण तथा सार्वजनिक निकायमा स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन गरिएका यी गतिविधिको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमनमा सरकारले जोड दिएको छ।






