२०८३ मंसिर ८ , मंगलबार

मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णय सार्वजनिक



काठमाडौं । सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेको बढुवासहित विभिन्न चार महत्वपूर्ण निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो।

मन्त्रिपरिषद्का चार निर्णय

१. विश्व बैंकसँग सम्झौता गर्न स्वीकृति

नेपाल अर्थक्वेक क्याटास्ट्रफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा विश्व बैंकसँग हस्ताक्षर गर्न सरकारले स्वीकृति दिएको छ।

२. बिटौरी जग्गा दर्ताका लागि समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने प्रक्रियासम्बन्धी समिति गठन आदेश, २०८३ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

३. एसियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार

२०औँ एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

४. अच्युतमणि न्यौपानेको बढुवा र पदस्थापन

मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार