सुर्खेत । तिब्बतबाट च्याङ्ग्रा आउन छाडेपछि कर्णालीका हिमाली जिल्लामा यस वर्ष दशैँका लागि च्याङ्ग्राको अभाव देखिएको छ । स्थानीय उत्पादनले बजारको माग धान्न नसक्दा च्याङ्ग्रा खोज्न व्यापारीलाई कठिन भएको छ । यसको असर हिमाली जिल्लाका बजारसँगै प्रदेश राजधानी वीरेन्द्रनगर र नेपालगन्जजस्ता सहरमा समेत परेको छ ।जुम्लाको तातोपानी गाउँपालिकाका भीमचन्द्र बुढा झन्डै एक सय भेडा लिएर सुर्खेतको वीरेन्द्रनगरमा बिक्रीका लागि आएका छन् । विगतमा भेडासँगै च्याङ्ग्रा पनि ल्याउने गरेका उनी यस वर्ष भने च्याङ्ग्रा नपाएपछि भेडा मात्रै लिएर आएका हुन् । ‘यता माग धेरै छ, दुई महिनादेखि खोजे पनि पखोरजस्तो च्याङ्ग्रा पाइएन, त्यसैले भेडा मात्रै ल्याएर आएँ,’ बुढाले भने ।

दशकदेखि भेडा र च्याङ्ग्राको व्यापार गर्दै आएका बुढाले गत वर्ष सुर्खेतमा ५० वटा च्याङ्ग्रा र करिब दुई सय भेडा बिक्री गरेका थिए । यस वर्ष वीरेन्द्रनगरमा च्याङ्ग्रा फाट्टफुट्ट मात्रै देखिने गरेको उनले बताए । डोल्पाका माथिल्लो भेगका शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका केही व्यापारी भने च्याङ्ग्रा करिब १७ दिन पैदल हिँडाएर पोखरा पु¥याउँदै छन् । सुर्खेत र नेपालगन्ज लैजाँदा बाटोमा समस्या भएपछि उनीहरूले मुस्ताङ हुँदै पोखरा पु¥याउने विकल्प रोजेका हुन् । ‘सुर्खेत, नेपालगन्ज लैजाँदा बाटोको समस्या भयो । चार–पाँच रात छार्काताङसोङका खर्कमा बास बसाउँदै मुस्ताङको बाटो भएर केही च्याङ्ग्रा पोखरा पठाएका छौँ,’ स्थानीय व्यापारी शिवानन्द गिरीले भने, ‘डोल्पा, मुस्ताङ र जोमसोम हुँदै हिँडाएर पोखरा पु¥याउँदा १७ दिनसम्म लाग्छ ।’
नेपाल–चीन सीमावर्ती मरिम्ला नाकाबाट विगतमा च्याङ्ग्रा भित्रिने गरे पनि पछिल्ला पाँच वर्षदेखि तिब्बती च्याङ्ग्राको नियमित आपूर्ति रोकिएको व्यापारी बताउँछन् । केही किसानले तिब्बतबाट पाठापाठी ल्याएर हुर्काएका च्याङ्ग्रा दशैँमा बिक्री गर्दै आएका छन् । तर, मागको तुलनामा स्थानीय उत्पादन कम हुँदा बजारमा पु¥याउनै कठिन भएको उनीहरुको भनाइ छ ।
च्याङ्ग्रा अभावको अर्को कारण ढुवानी पनि बनेको छ । हिमपात र पहिरोले बाटो बिग्रिँदा माथिल्लो डोल्पाबाट सदरमुकाम दुनैसम्म च्याङ्ग्रा पु¥याउनसमेत समस्या हुने गरेको छ । यही कारण केही व्यापारीले पोखराको बजार रोज्न थालेका छन् । व्यापारी छेवाङ लामाका अनुसार स्थानीयले तिब्बतबाट पाँचदेखि आठ हजार रुपैयाँमा पाठापाठी ल्याएर हुर्काउने गरेका थिए । तर, तिब्बतबाट च्याङ्ग्रा आउन छाडेपछि स्थानीयस्तरमा पालिएका च्याङ्ग्रा पनि कम भएका छन् । ‘तिब्बतबाट हुर्किसकेको च्याङ्ग्रा नै आएको भए सजिलो हुन्थ्यो,’ लामाले भने, ‘उताबाट आउन छाडेपछि यहाँ पालेका च्याङ्ग्रा कम भए । बजारमा पठाउन सकिएको छैन ।’
उनका अनुसार स्थानीयसँग च्याङ्ग्रा २५ देखि ३५ हजार रुपैयाँसम्ममा खरिद गरिन्छ । पोखरामा प्रतिच्याङ्ग्रा ४० देखि ५० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरी पठाउने गरिएको छ । ढुवानी, बाटोको कठिनाइ र लामो समय लाग्ने भएकाले व्यापारमा जोखिम पनि बढेको उनले बताए ।
भेडा र खसीबोकाले धान्दै दशैँको बजार
च्याङ्ग्रा नपाएपछि मुगुका व्यापारी तिलक रावत भेडा मात्रै लिएर वीरेन्द्रनगर आएका छन् । उनका अनुसार पाँच वर्षअघिसम्म मुगुको नाक्चेनाङ्ला नाकाबाट दशैँका बेला तिब्बतबाट वार्षिक १० देखि १५ हजार च्याङ्ग्रा भित्रिने गर्थे । यस वर्ष उनले बिक्रीका लागि झन्डै एक सय भेडा ल्याएका छन् । ‘हिमाली जिल्लामा खसीबोका पालन खासै हुँदैन, त्यसैले च्याङ्ग्राको माग धान्नै सकिएको छैन,’ रावतले भने, ‘खसीबोकाभन्दा च्याङ्ग्राको मासु मिठो र स्वादिलो हुन्छ, तर यसपालि गाउँगाउँ घुम्दा पनि च्याङ्ग्रा पाइएन ।’
गत वर्ष उनले करिब एक सय च्याङ्ग्रा र तीन सय भेडा बिक्री गरेका थिए । उनका अनुसार सुर्खेतमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार रुपैयाँ र जिउँदो भेडा प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले यस वर्ष च्याङ्ग्रा किन्न तिब्बत पुगेका केही व्यापारी महँगो मूल्यका कारण रित्तै फर्किनुपरेको बताए । उनका अनुसार कोरोना महामारीअघि १० देखि १५ हजार रुपैयाँमा पाइने च्याङ्ग्राको मूल्य अहिले तिब्बती बजारमै ३० हजार रुपैयाँभन्दा माथि पुगेको छ । ‘कोरोना महामारीअघि नाक्चेनाङ्ला नाकाबाट च्याङ्ग्रा मुगु भित्रिने गर्थे,’ लामाले भने, ‘अहिले चीनमै च्याङ्ग्राको मूल्य बढेको छ । त्यहाँ २० हजार रुपैयाँभन्दा कममा च्याङ्ग्रा पाइँदैन । यहाँ ल्याएपछि घाटामा बेच्नुपर्ने अवस्था आउने भएकाले व्यापारीले ल्याउन छाडेका छन् ।’
हुम्लामा पनि तिब्बतबाट च्याङ्ग्रा ल्याउने क्रम घटेको छ । स्थानीय बजारमा जिल्लामै उत्पादित च्याङ्ग्रा २० देखि २५ हजार रुपैयाँसम्ममा किनबेच भइरहेको व्यवसायी बताउँछन् । तर, पर्याप्त च्याङ्ग्रा नहुँदा दशैँमा मागअनुसार आपूर्ति गर्न नसकिएको उनीहरुको भनाइ छ । हुम्लाका च्याङ्ग्रा व्यापारी ग्वामसिंह भण्डारीका अनुसार कोरोना महामारीअघि हिल्सा नाकाबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरेका थिए । ‘अहिले चीनमै च्याङ्ग्राको मूल्य बढेको छ । त्यहाँ २० हजार रुपैयाँभन्दा कममा पाइँदैन,’ उनले भने, ‘यता ल्याएपछि घाटामा बेच्नुपर्ने अवस्था आउने भएकाले च्याङ्ग्रा ल्याउनै छाडिएको छ ।’
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीका हिमाली जिल्लामा झन्डै दुई लाख आठ हजार च्याङ्ग्रा पालिएका छन् । तर, जिल्लामै उत्पादन भएका च्याङ्ग्राको संख्या, दशैँमा बिक्री हुने परिमाण र बाहिरी बजारमा पठाइने संख्याको विवरण भने उपलब्ध छैन । कर्णालीमा च्याङ्ग्रा अभाव देखिए पनि दशैँमा भेडाको व्यापार भने स्थानीय बजारको प्रमुख आधार बनेको छ ।
मासु व्यवसायी संघ सुर्खेतका अध्यक्ष टोपेन्द्र शाहीका अनुसार तिब्बतबाट च्याङ्ग्रा आउन छाडेपछि कर्णालीका हिमाली जिल्लामा उत्पादित भेडा र च्याङ्ग्रा दशैँका लागि सुर्खेत झर्ने क्रम बढेको छ । कर्णालीका विभिन्न जिल्लासँगै बाजुरा र अछामबाट समेत भेडा, च्याङ्ग्रा तथा खसीबोका वीरेन्द्रनगर आउने गरेका छन् । शाहीले सुर्खेतबाट खसी बोका विशेष गरी काठमाडौं पोखरा निर्यात भइरहेको बताए । ‘विभिन्न जिल्लाबाट च्याङ्ग्रा र भेडा आएकाले दशैंमा मासुको अभाव नहोला, उनले भने ।’
दशैँको समयमा वीरेन्द्रनगरमा दैनिक ४० देखि ५० वटासम्म खसी काटिने गरेको उनको भनाइ छ । शाहीका अनुसार दशैँमा मासुको खपत बढे पनि घरघरमै खसी काट्ने र बलि दिने चलनका कारण पसलबाट काटेर मासु बिक्री गर्ने व्यवसाय भने सामान्य समयको तुलनामा करिब ५० प्रतिशत घट्ने गरेको छ । ‘दशैँको बेला मानिसहरु घरमै खसी काट्ने, बलि दिने र परिवारसँग रमाइलो गर्ने भएकाले मासुको खपत बढ्छ, तर पसलबाट काटेर बेच्ने कारोबार कम हुन्छ,’ उनले भने ।
उनका अनुसार दशैँमा खसी खरिद गर्ने मूल्य केही बढे पनि मासुको बिक्री मूल्य भने तत्काल बढाइएको छैन । ‘चाडपर्वमा मासुको मूल्य बढाउनुपरे जिल्ला प्रशासनको अनुमति लिएर व्यवसायीबीच छलफल गरेर मात्रै बढाउने हो, अहिले पुरानै मूल्यमा बिक्री भइरहेको छ,’ उनले भने ।
शाहीले अछाम, बाजुरा, कालिकोट, जुम्ला, हुम्ला, सुर्खेत, दैलेख र जाजरकोटबाट खसीबोका खरिद हुने गरेको जानकारी दिए । घरघरमा पुगेर बिक्री हुने भेडा तथा च्याङ्ग्राको कारोबारको भने एकीकृत तथ्यांक नरहेको उनको भनाइ छ ।
यसैबीच, यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि दशैँमा खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले विगतका वर्षमा बजार मूल्य नियन्त्रण गर्ने उद्देश्यले सहुलियत दरमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो । तर, लगातार घाटा बेहोर्नुपरेको र सडक अवरोधका कारण ढुवानीमा जोखिम बढेको भन्दै यस वर्ष खरिदबिक्री कार्यक्रम नै नराखिएको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए ।








