सुर्खेत । ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएपछि कर्णाली प्रदेश सरकारले पनि २०७६ पुसमा ‘यसपाली घुमौँ कर्णाली’ भन्ने नारासहित पर्यटन वर्ष घोषणा ग¥यो । कर्णालीका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई देशविदेशमा चिनाउने र प्रदेशमा पर्यटकको आवागमन बढाउने उद्देश्यले सुरु गरिएको अभियानपछि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा सरकारले लगानी बढाउँदै लगेको छ । त्यसयता कर्णालीका विभिन्न पर्यटकीय गन्तव्यमा १६ लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । तर, पर्यटकको सङ्ख्या बढे पनि कर्णालीको पर्यटनले अपेक्षित गति लिन भने अझै सकेको छैन ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म सात वर्षको अवधिमा कर्णालीका विभिन्न पर्यटकीय गन्तव्यमा १६ लाख ३९ हजार आठ सय ४३ पर्यटक पुगेका छन् । आर्थिक वर्ष २०७६र०७७ मा ११ हजार सात सय चार पर्यटक कर्णाली भित्रिएकोमा गत आर्थिक वर्ष २०८२र०८३ मा पाँच लाख ४० हजार सात सय २८ पुगेका छन् ।
पर्यटकको यो संख्याले कर्णालीका पर्यटकीय गन्तव्यप्रति आकर्षण बढ्दै गएको देखाउँछ । प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण तथा प्रवद्र्धनमा लगानी बढाएको छ । यद्यपि, कर्णालीको पर्यटन सम्भावनालाई हेर्दा यो उपलब्धि पर्याप्त छैन । प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्ने सहज पहुँचमार्गको अभाव, प्रचारप्रसारमा कमजोरी र आवश्यक पर्यटकीय पूर्वाधारको कमीले यहाँको पर्यटन विकास अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन ।
मुगुका पर्यटन उद्यमी राजु कार्कीका अनुसार कर्णालीको पर्यटन विकासका लागि प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटकलाई आवश्यक पूर्वाधार र सेवासुविधाको व्यवस्था गर्न जरुरी छ । ‘रारा र शे–फोक्सुण्डोजस्ता प्रसिद्ध गन्तव्यदेखि सिंजा उपत्यका, लिमी उपत्यका, पञ्चकोशी र अन्य धार्मिक तथा सांस्कृतिक सम्पदासम्म विविध पर्यटकीय आकर्षण छन्,’ उनले भने, ‘यी सम्पदालाई व्यवस्थित रुपमा संरक्षण र प्रवद्र्धन गर्न सके कर्णालीको पर्यटनले नयाँ उचाइ लिन सक्छ तर सम्भावना हुनु र त्यसलाई आर्थिक उपलब्धिमा रुपान्तरण गर्नु फरक कुरा हुन् ।’
पर्यटकीय गन्तव्यसम्म पुग्ने बाटो, सुरक्षित आवास, गुणस्तरीय खाना, सरसफाइ, भरपर्दो सञ्चार र आपत्कालीन सेवाजस्ता आधारभूत आवश्यकता पूरा नभएसम्म पर्यटन विस्तारले गति लिन कठिन हुन्छ । त्यसैले सरकारले प्रचारप्रसारसँगै आधारभूत पूर्वाधार र सेवा सुधारमा समान प्राथमिकता दिनुपर्ने कार्कीको भनाइ छ ।
रारामा सात वर्षमा एक लाखभन्दा बढी पर्यटक
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ । स्वर्गकी अप्सराको उपमा पाएको रारा तालमा आर्थिक वर्ष २०७६÷०७७ मा १० हजार ३६ पर्यटक पुगेका थिए । सात वर्षको अवधिमा रारामा पुग्ने पर्यटकको कुल सङ्ख्या एक लाख पाँच हजार एक सय ८४ पुगेको छ । गत आर्थिक वर्षमा मात्रै रारा ताल अवलोकन गर्न २४ हजार नौ सय ३१ पर्यटक पुगेका छन् ।
त्यस्तै, डोल्पाको शे–फोक्सुण्डो ताल पनि कर्णालीको अर्को प्रमुख पर्यटकीय गन्तव्य हो । मन्त्रालयको तथ्याङ्कअनुसार सात वर्षको अवधिमा शे–फोक्सुण्डोमा २६ हजार पाँच सय ८५ पर्यटक पुगेका छन् । प्राकृतिक सौन्दर्यका दृष्टिले महत्त्वपूर्ण यी दुवै गन्तव्य कर्णालीको पर्यटन पहिचानसँग जोडिएका छन् ।
रारा र शे–फोक्सुण्डोबाहेक सुर्खेतको गोठीकाँडा, प्रादेशिक सहिद पार्क, बुलबुले ताल र काँक्रेविहार तथा सल्यानको कुपिण्डे तालमा पनि पर्यटक पुग्ने गरेका छन् । हुम्लाको मानसरोवरलगायत पर्यटकीय क्षेत्रमा हवाई मार्गबाट जाने पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ । मन्त्रालयका वन व्यवस्थापन तथा जैविक विविधता संरक्षण महाशाखाका वरिष्ठ डिभिजनल जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गरी हुम्लाको मानसरोवरलगायत पर्यटकीय क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या चार हजार पाँच सय ८९ थियो ।
पछिल्ला वर्षमा बढे पर्यटक
मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा कर्णालीका विभिन्न पर्यटकीय गन्तव्यमा ३४ हजार ६९ पर्यटक पुगेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा यो सङ्ख्या बढेर एक लाख २७ हजार २९ पुगेको थियो । आर्थिक वर्ष २०७९र०८० मा एक लाख ९८ हजार एक सय ३४ र आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख १० हजार पाँच सय ९० पर्यटक पुगेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा पाँच लाख ४१ हजार आठ सय ८९ पर्यटक कर्णालीका विभिन्न गन्तव्यमा पुगेका थिए । गत आर्थिक वर्ष २०८२/०८३ मा भने पाँच लाख ४० हजार सात सय २८ पर्यटक पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
यी विवरणले पछिल्ला वर्षमा कर्णालीका पर्यटकीय गन्तव्यमा पर्यटकको आवागमन बढेको देखाउँछन् । तर, प्रदेशका सबै पर्यटकीय क्षेत्रले समान रूपमा पर्यटक आकर्षित गर्न सकेका छैनन् । रारा र शे–फोक्सुण्डोजस्ता गन्तव्यले कर्णालीलाई चिनाइरहेका बेला अन्य सम्भावनायुक्त क्षेत्रको प्रचारप्रसार तथा पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने देखिन्छ ।
पर्यटनमा बढ्दो सरकारी लगानी
कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पछिल्ला वर्षमा बजेट बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा पर्यटन क्षेत्रमा २३ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७९/०८० मा ३४ करोड ५७ लाख, आर्थिक वर्ष २०८०/०८१ मा ४१ करोड ९९ लाख र आर्थिक वर्ष २०८१/०८२ मा ४० करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा ५० करोड ४० लाख रुपैयाँ छुट्याइएकोमा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि पर्यटन क्षेत्रमा ५३ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटको आकार बढेसँगै प्रदेश सरकारले पर्यटनलाई आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र स्थानीय समृद्धिको प्रमुख आधार बनाउने नीति लिएको छ ।
चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कर्णाली पर्यटन दशक सुरु गर्ने घोषणा पनि गरिएको छ । यस अभियानमार्फत प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार निर्माण, पहुँच विस्तार, प्रचारप्रसार तथा पर्यटन सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिने सरकारको लक्ष्य छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले पर्यटन दशकको नीति कार्यान्वयन गर्न आवश्यक नीतिगत तयारी थालिने बताइन् । उनका अनुसार दस वर्षको योजना भएकाले व्यापक तयारी गर्नुपर्ने हुन्छ । कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि निर्माण गर्ने विषयमा प्रारम्भिक छलफलसमेत भएको छ ।
पाँच पर्यटकीय गन्तव्यको विकासमा २१ करोड ३५ लाख
पर्यटन दशकको तयारीसँगै प्रदेश सरकारले प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण र विकासका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौगान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण तथा विकासका लागि २१ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ ।
यी गन्तव्यको विकासका लागि यसअघि तयार गरिएका गुरुयोजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने सरकारको योजना छ । यस्तै, सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नतिलगायत आवश्यक कार्यका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
सुर्खेत विमानस्थलबाट हिमाली जिल्लाका विमानस्थलमा नियमित हवाई उडान सञ्चालन गर्न सङ्घीय सरकारसँग समन्वय गरी सहुलियत कार्यक्रम उपलब्ध गराउने योजना पनि प्रदेश सरकारको छ । दुर्गम हिमाली जिल्लाका पर्यटकीय गन्तव्यसम्म पुग्न सडक यातायात कठिन हुने अवस्थामा हवाई सेवाको सहजताले पर्यटन आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसका अतिरिक्त सहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरणको संरक्षण तथा पर्यापर्यटनको दिगो विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्न पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण एवं स्तरोन्नतिका लागि ३९ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यी कार्यक्रम पनि पर्यटन दशकअन्तर्गत सञ्चालन गर्ने सरकारको योजना छ ।
होमस्टे र स्थानीय रोजगारीमा जोड
कर्णालीको पर्यटन विकासलाई स्थानीय अर्थतन्त्रसँग जोड्न प्रदेश सरकारले पर्यापर्यटन, ग्रामीण पर्यटन र होमस्टे प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ । पर्यटनसम्बन्धी रोजगारी सिर्जना गर्न हस्पिटालिटी, ट्रेकिङ गाइड, स्थानीय मौलिक वास्तुकला तथा रैथाने बालीबाट उत्पादित परिकारसम्बन्धी सीप विकास कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ ।
मन्त्रालयका सूचना अधिकारी नेपालीका अनुसार पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा ५३ करोड ८६ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । कर्णालीमा रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, काँक्रेविहार, पञ्चकोशी, सिंजा र लिमी उपत्यकालगायत प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले पर्यटनको सम्भावना बोकेका छन् । यी गन्तव्यलाई जोडेर पर्यटन सर्किट विकास गर्ने अवधारणा प्रदेश सरकारले यसअघि नै अघि सारेको थियो ।
अहिले सरकारको जोड पर्यटकलाई गन्तव्यसम्म पु¥याउने मात्र नभई त्यहाँको बसाइ लम्ब्याउने वातावरण निर्माणमा पनि छ । यसका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र, पर्यटकसम्बन्धी सूचना सामग्री र गाइडबुक प्रकाशन तथा सुरक्षा र आपत्कालीन सहयोग संयन्त्र विकासका कार्यक्रम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी बढाए पनि कर्णालीका पर्यटकीय गन्तव्यमा पूर्वाधार अभाव, कमजोर सडक पहुँच, होटल तथा खानेपानीको कमी र प्रचारप्रसारको अभाव प्रमुख चुनौतीका रुपमा रहेका छन् । पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक सहज नहुँदा पर्यटकले लामो यात्रा गर्नुपर्ने अवस्था छ । कतिपय क्षेत्रमा पर्यटकलाई आवश्यक पर्ने आवास तथा अन्य सेवा सुविधाको पर्याप्त व्यवस्था हुन सकेको छैन ।








