कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । बुधबार दिउँसो भएको घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुर्खेतबाट जुम्लाको नाग्मतर्फ जाँदै गरेको भे १ ख ४०९४ नम्बरको गाडीमा दिउँसो करिब ३ः५५ बजे आगलागी भएको हो ।जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार गाडी उकालो चढ्ने क्रममा इन्जिन तातिएपछि धुवाँ निस्किएको थियो । चालकले धुवाँ देखेपछि यात्रुहरूलाई गाडीबाट ओराल्ने क्रममा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।
घटनाबारे सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनबहादुर राना क्षेत्रीको कमान्डमा १५ जनाको टोली आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।आगलागीका कारण गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गाडीभित्र रहेका सामानसमेत जलेका छन् । चालकले समयमै यात्रुहरूलाई बाहिर निकालेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय कालीकोटबाट करिब तीन किलोमिटर पश्चिम–दक्षिणतर्फ रहेको छ ।








