२०८३ असोज २८ , बुधबार

बूढानीलकण्ठमा बरामद साढे २१ किलो सुन विमानस्थलबाटै आएको आशंका, ११ दिनमा पाँचपटक गाडीको आवतजावत



काठमाडौं । बूढानीलकण्ठबाट बरामद भएको २१ किलो ७५०।६८ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकले प्रयोग गरेको भाडाको गाडी ११ दिनभित्र पाँचपटक विमानस्थल पुगेको खुलेपछि प्रहरीको शंका बलियो बनेको हो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार चिनियाँ नागरिक हान फिईले ११ असोजदेखि २५ असोजसम्मका लागि दैनिक आठ हजार रुपैयाँ तिर्ने गरी एउटा कार भाडामा लिएका थिए । उक्त गाडी विमानस्थलको पार्किङ क्षेत्रसम्म पाँचपटक पुगेको देखिएको अनुसन्धान अधिकृतले बताएका छन् । प्रहरीले गाडीको यो गतिविधिलाई शंकास्पद मानेको छ । प्रारम्भिक अनुसन्धानले बरामद सुन हवाई मार्गबाट काठमाडौं ल्याइएको हुन सक्ने देखाए पनि त्यसलाई पुष्टि गर्ने काम भइरहेको अधिकारीहरूको भनाइ छ ।

गाडीभित्र पनि सुनका बिस्कुट फेला

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २२ असोजको बिहान छापा मार्दा हान फिईले प्रयोग गरेको कारबाट सुनका बिस्कुटसमेत बरामद गरेको थियो । चालकको सिट नजिकै रहेको बक्समा कागजले बेरिएको अवस्थामा दुईवटा सुनका बिस्कुट फेला परेका थिए । प्रहरीका अनुसार ती बिस्कुट प्रत्येक दुई किलोका थिए । गाडी भाडामा लिनेदेखि त्यसको प्रयोगसम्मका गतिविधि सुन ओसारपसारसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

तीनै चिनियाँ नागरिक हङकङ हुँदै काठमाडौं आएको खुलेको

सुन प्रकरणमा पक्राउ परेका तीनै जना चिनियाँ नागरिक हवाई मार्ग हुँदै काठमाडौं आएको अध्यागमन अभिलेखमा देखिएको छ । उनीहरू हङकङ हुँदै नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । पक्राउ पर्नेमा २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन छन् । अध्यागमनको विवरणअनुसार उनीहरूमध्ये दुई जना ११ असोजमा र एक जना १५ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

काठमाडौं आएपछि उनीहरू पटक–पटक विमानस्थल गएको हुन सक्ने विवरण पनि अनुसन्धानका क्रममा प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । उनीहरूको आवतजावत, भाडाको गाडीको प्रयोग र बरामद सुनबीच सम्बन्ध छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सुनलाई लुकाउन सहज हुने स्वरूपमा तयार पारेर हवाई मार्गबाट ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ । यद्यपि, सुन विमानस्थलबाटै भित्रिएको तथ्यलाई थप प्रमाणका आधारमा पुष्टि गर्न बाँकी रहेको अनुसन्धान अधिकारीले बताएका छन् ।

५४ करोडभन्दा बढी मूल्यको सुन बरामद

प्रहरीले बूढानीलकण्ठ नगरपालिका–माथिल्लो भंगालस्थित एक घरमा छापा मार्दा २१ किलो ७५०।६८ ग्राम सुन बरामद गरेको थियो । बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको जनाइएको छ । चिनियाँ नागरिकले उक्त साढे दुई तले घर मासिक तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ । घरभाडाबापत चार महिनाको रकम अग्रिम भुक्तानी गरिएको विवरणसमेत फेला परेको बताइएको छ । यस प्रकरणमा सुन कसरी नेपाल भित्रियो, त्यसमा को–को संलग्न छन् र विमानस्थलको भन्सार प्रक्रियामा कुनै कमजोरी भएको थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । विमानस्थलस्थित भन्सार कार्यालयले पनि घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार