२०८३ असोज २८ , बुधबार

वीरेन्द्रनगर बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः बमबहादुर बिसी



सुर्खेत । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभाले बमबहादुर बिसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । निर्वाचनसहितको साधारणसभा सम्पन्न भएसँगै संस्थाको अध्यक्षमा बिसी चयन भएका हुन् ।

असोज २४ र २५ गते सम्पन्न सातवटा एकाइ बैठकबाट भएका निर्णयलाई असोज २८ गतेको एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणीकरण सभाले पारित गरेपछि साधारणसभा सम्पन्न भएको हो ।

सभाले नौ सदस्यीय सञ्चालक समिति र लालबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।  सञ्चालक समितिको उपाध्यक्षमा श्याम पौडेल, सचिवमा राजन रजवार र कोषाध्यक्षमा इन्द्रा हमाल चयन भएका छन् ।  सदस्यहरूमा कमलप्रसाद नेपाल, देविराम बोहरा, शान्ति पोखरेल, विद्या खत्री र होमबहादुर रामजाली निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा लालबहादुर खड्का तथा सदस्यमा बेचुलाल चौधरी र मोतिप्रसाद सापकोटा चयन भएका छन् ।

साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम, बजेट र अन्तिम लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।  संस्थाले उक्त आर्थिक वर्षमा एक करोड १६ लाख ८४ हजार ८२५ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति एक अर्ब ५३ करोड २५ लाख ६७ हजार २५ रुपैयाँ पुगेको छ ।  संस्थामा सदस्यहरूको बचत एक अर्ब २० करोड ५४ लाख ७० हजार ५८९ रुपैयाँ, शेयर पुँजी १६ करोड २५ लाख ९१ हजार ६०० रुपैयाँ र संस्थागत पुँजी ६ करोड ८५ लाख २८ हजार ९६६ रुपैयाँ रहेको छ । त्यस्तै, सदस्यहरूलाई प्रवाह गरिएको ऋण लगानी एक अर्ब १८ करोड ७९ लाख ११ हजार ९४४ रुपैयाँ ४३ पैसा पुगेको प्रतिवेदनमा जनाइएको छ ।

४४५ सदस्य सम्मानित

साधारणसभाको अवसरमा संस्थाले १२ विधाअन्तर्गत ४४५ जना सदस्यलाई सम्मान गरेको छ । संस्थाले बाल सदस्यलाई स्टेसनरी सामग्री, ज्येष्ठ सदस्यलाई पौष्टिक आहार तथा अन्य सदस्यलाई प्रशंसापत्र प्रदान गरेको जनाएको छ । साथै, ११ कित्ता संस्थागत शेयर थप गरिएको विवरणसमेत प्रस्तुत गरिएको छ ।

संस्थाले सदस्यको आर्थिक सुरक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ । संस्थाका अनुसार प्रसूति हुने महिला सदस्यलाई दुई हजार रुपैयाँ मातृत्व सुरक्षा सहयोग, दुर्घटना बीमाअन्तर्गत एक लाख रुपैयाँ बराबरको सुविधा तथा सदस्यको मृत्यु हुँदा परिवारलाई २० हजार रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने व्यवस्था छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाका अनुसार सहकारीले मुनाफा आर्जनमा मात्र केन्द्रित नभई सदस्यको आर्थिक तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ । बचत तथा ऋण कारोबारबाट प्राप्त लाभसँगै सदस्य सुरक्षा कार्यक्रममार्फत सहकारीको प्रतिफल सदस्यसम्म पुर्‍याउने प्रयास भइरहेको उनले बताएका छन् ।

साधारणसभाअन्तर्गतका एकाइगत कार्यक्रम संस्थाका पदाधिकारी, सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका प्रतिनिधि र कर्मचारीको सहभागितामा सञ्चालन भएका थिए ।  कार्यक्रममा शेयर सदस्य तथा समाजसेवीहरूको समेत सहभागिता रहेको थियाे ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार