२०८३ असोज ३० , शुक्रबार
सम्पादकीय

कर्णाली पर्यटन: सम्भावना धेरै, उपलब्धि सीमित



कर्णाली प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था र मौलिक संस्कृतिले भरिपूर्ण प्रदेश हो । रारा ताल, शे–फोक्सुण्डो, काँक्रेविहार, स्यार्पु, कुपिण्डे दह, सिंजा र लिमी उपत्यकाजस्ता गन्तव्यले कर्णालीलाई पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्रका रुपमा चिनाएका छन् । पछिल्लो सात वर्षमा १६ लाखभन्दा बढी पर्यटक कर्णालीका विभिन्न गन्तव्यमा पुग्नु सकारात्मक उपलब्धि हो । तर, पर्यटकको सङ्ख्या बढ्दैमा पर्यटन क्षेत्रको अपेक्षित विकास भएको मान्न सकिँदैन । मुख्य प्रश्न पर्यटकको आगमनलाई स्थानीय अर्थतन्त्र, रोजगारी र समृद्धिसँग कति जोड्न सकियो भन्ने हो ।

कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि बजेट बढाउँदै लगेको छ । चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा ५३ करोड ८६ लाख रुपैयाँ विनियोजन गर्नु र पर्यटन दशकको अवधारणा अघि सार्नु सकारात्मक कदम हुन् । तर, बजेट विनियोजन र योजना घोषणा मात्र पर्याप्त हुँदैनन् । पर्यटकीय गन्तव्यसम्म पुग्ने सडकको अवस्था, सुरक्षित आवास, स्वच्छ खानेपानी, गुणस्तरीय खाना, सञ्चार सुविधा र आपत्कालीन सेवाको अभाव कायम रहेसम्म पर्यटन विकासले अपेक्षित गति लिन सक्दैन । कर्णालीको पर्यटन विकासको अर्को महत्त्वपूर्ण पक्ष स्थानीय समुदायको सहभागिता हो । पर्यटकको आगमनले ठूला व्यवसायीलाई मात्र लाभ पुग्ने होइन, स्थानीय किसान, होटल व्यवसायी, होमस्टे सञ्चालक, हस्तकला उत्पादक र युवाले पनि रोजगारी तथा आम्दानीको अवसर पाउनुपर्छ । रैथाने बालीबाट बनेका परिकार, स्थानीय कला–संस्कृति र मौलिक जीवनशैलीलाई पर्यटनसँग जोड्न सके आर्थिक लाभ गाउँसम्म पुग्न सक्छ ।

त्यसैगरी, पर्यटन प्रवद्र्धनका नाममा प्राकृतिक सम्पदाको संरक्षणलाई बेवास्ता गर्नु हुँदैन । रारा र शे–फोक्सुण्डोजस्ता संवेदनशील क्षेत्रमा फोहोर व्यवस्थापन, जैविक विविधताको संरक्षण र पर्यटकको चाप व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ । विकासका संरचना निर्माण गर्दा वातावरणीय सन्तुलन कायम गर्नु अनिवार्य छ ।
अब प्रदेश सरकारले पर्यटन दशकलाई नारामा सीमित नराखी स्पष्ट कार्ययोजना, समयसीमा र परिणाममुखी कार्यान्वयनमा जोड दिनुपर्छ । बजेटको प्रभावकारी उपयोग, गन्तव्यबीच पर्यटन सञ्जाल, नियमित प्रचारप्रसार र सेवाको गुणस्तर सुधार आवश्यक छ । कर्णालीसँग पर्यटक आकर्षित गर्ने सम्पदा पर्याप्त छन् । अब ती सम्पदालाई दिगो आम्दानी, स्थानीय रोजगारी र समृद्धिको आधार बनाउने जिम्मेवारी सरकार र समुदाय दुवैको हो । यसका लागि निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन व्यवसायमा लगानीमैत्री वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ । पर्यटकको बसाइ अवधि लम्ब्याउने, खर्च बढाउने र पुनः आगमन सुनिश्चित गर्ने कार्यक्रम ल्याउनुपर्छ । योजनाको नियमित अनुगमन र उपलब्धिको सार्वजनिक समीक्षा गर्न सके मात्र कर्णालीको पर्यटन सम्भावना वास्तविक समृद्धिमा रुपान्तरण हुनेछ ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार