२०८३ असोज ३० , शुक्रबार
फ्रन्ट पेज

यसपटक चाडमा कर्णालीमा खाद्यान्न अभाव नहुने, ८१ वितरण केन्द्रबाट गाउँ–गाउँमा आपूर्ति



सुर्खेत । विगतका वर्षमा दसैँ–तिहार नजिकिँदै गर्दा खाद्यान्न अभाव र ढुवानी समस्याले पिरोलिने कर्णालीवासीले यस वर्ष सहज रुपमा चाडपर्व मनाउन पाउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले चाडपर्वलाई लक्षित गरी समयमै खाद्यान्न ढुवानी र पर्याप्त मौज्दातको व्यवस्था गरेपछि यस वर्ष प्रदेशभर खाद्यान्न अभाव हुन नदिने जनाएको छ । दुर्गमका गाउँबस्तीसम्म खाद्यान्न पु¥याउन वितरण केन्द्रको सङ्ख्यासमेत २१ बाट बढाएर ८१ पु¥याइएको छ भने उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन सुपथ मूल्य पसल वर्षैभरि सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

चाडपर्वका बेला खाद्यान्नको माग बढ्ने, सडक अवरुद्ध हुँदा ढुवानी प्रभावित हुने र बजारमा मूल्यवृद्धि हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै कम्पनीले यस वर्ष आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिएको हो । विगतका वर्षमा साउन महिनामा खोलिने खाद्यान्न ढुवानीसम्बन्धी टेन्डर यस वर्ष जेठमै खोलिएकाले समयमै अधिकांश जिल्लामा खाद्यान्न पु¥याउन सहज भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख केशवराज बुढाका अनुसार स्थानीय उत्पादनले वर्षभरि माग धान्न नसक्ने माथिल्लो कर्णालीका हिमाली तथा दुर्गम जिल्लाका अधिकांश वितरण केन्द्रमा चाडपर्वअघि नै खाद्यान्न पु¥याएर आवश्यक मौज्दात राखिएको छ । ‘स्थानीय उत्पादनले वर्षभरि माग धान्न नसक्ने माथिल्लो कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा चाडपर्वअघि नै खाद्यान्न पु¥याएका छौँ,’ उनले भने, ‘अधिकांश वितरण केन्द्रमा आवश्यक मौज्दात राखिएको छ ।

सुर्खेतस्थित प्रादेशिक कार्यालयमा पनि पर्याप्त खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु छन् । आवश्यक परे अन्य कार्यालयबाट समेत आपूर्ति गर्न सकिने व्यवस्था मिलाएका छौँ ।’
खाद्यान्न वितरणलाई सदरमुकाममा मात्र सीमित नराखी गाउँबस्तीसम्म पु¥याउने उद्देश्यले कम्पनीले यस वर्ष वितरण केन्द्रको सङ्ख्या २१ बाट बढाएर ८१ पु¥याएको छ । स्थानीय माग र आवश्यकताका आधारमा केन्द्र थपेर वितरण प्रणाली विकेन्द्रित गरिएको कार्यालयले जनाएको छ । कम्पनीका अनुसार कालीकोटमा १४, हुम्लामा १३, मुगु, डोल्पा र जाजरकोटमा १२–१२, जुम्लामा सात, रुकुम पश्चिममा पाँच, दैलेखमा चार र सुर्खेतमा दुईवटा वितरण केन्द्र सञ्चालनमा छन् ।

‘पहिले सीमित ठाउँबाट खाद्यान्न वितरण हुँदा टाढाका बस्तीका नागरिकलाई समस्या हुने गरेको थियो,’ उनले भने, ‘स्थानीयको माग र आवश्यकताका आधारमा वितरण केन्द्र थपेर ८१ पु¥याएका छौँ । यसले दुर्गमका नागरिकलाई खाद्यान्न खरिद गर्न सहज बनाउने अपेक्षा गरेका छौँ ।’ कार्यालयका अनुसार हुम्लामा दसैँअघि नै खाद्यान्न पु¥याइएको छ भने सिमकोट शाखा तथा सर्केगाड र श्रीनगर डिपोमा समेत खाद्यान्न मौज्दात राखिएको छ । सडक अवरुद्ध भएका कारण मुगुको मुगुम कार्मारोङको एक स्थान र बाजुराको मुक्तिकोटमा भने खाद्यान्न ढुवानी हुन सकेको छैन । यी स्थानबाहेक अन्य क्षेत्रमा खाद्यान्न पठाइसकिएको कार्यालयले जनाएको छ ।

प्रदेशभर ३५ हजार क्विन्टल चामल मौज्दात

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार कर्णालीभर ३५ हजार क्वीन्टल चामल, १ हजार क्वीन्टल चिनी र ३० हजार लिटर तेल मौज्दात रहेको छ । कार्यालय प्रमुख बुढाले
हाल सुर्खेतस्थित प्रादेशिक कार्यालयमा १३ हजार क्विन्टल चामल, ६४० क्विन्टल दाल, २४ हजार लिटर खाने तेल र ४५० क्विन्टल चिनी मौज्दात रहेको बताए । कर्णालीका नागरिकलाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन यस वर्ष एक करोड ४० लाख ५३ हजार रुपैयाँ छुट रकम विनियोजन गरिएको छ । आवश्यकताअनुसार अन्य कार्यालयबाट समेत खाद्यान्न आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको कार्यालय प्रमुख बुढाले बताए ।

यसैबीच, खाद्यान्नको सहज आपूर्तिसँगै उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन कम्पनीले यस वर्षदेखि सुपथ मूल्य पसल वर्षैभरि सञ्चालन गर्ने नीति लिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश प्रादेशिक कार्यालय, गोदामलाइन सुर्खेतले २०८३ साउन २८ गतेदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । विगतका वर्षमा दसैँ–तिहार लक्षित निश्चित अवधिका लागि मात्रै सञ्चालन हुने यस्ता पसल यस वर्षदेखि वर्षभरि सञ्चालन हुनेछन् । पसलमा चामल, दाल, कर्णालीको सिमी, चिनी तथा विभिन्न प्रकारका खानेतेल छुटसहित बिक्री भइरहेको छ ।

चामलको मूल्य घट्यो, खानेतेल महँगियो

कम्पनीले यस वर्ष बजार मूल्यको उतारचढावअनुसार सुपथ मूल्य पसलमा बिक्री हुने खाद्य वस्तुको मूल्य परिमार्जन गरेको छ । गत वर्षको तुलनामा अरुवा मोटा चामलको २५ किलोको बोराको मूल्य एक हजार ४२५ रुपैयाँबाट घटाएर एक हजार ४०० रुपैयाँ र अरुवा सोना मन्सुली चामलको मूल्य एक हजार ४७५ रुपैयाँबाट घटाएर एक हजार ४२५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गत वर्षको तुलनामा स्टिम जिरा मसिनो चामलको २५ किलोको बोराको मूल्य दुई हजार ७५ रुपैयाँबाट बढाएर दुई हजार १२५ रुपैयाँ पु¥याइएको छ । १० लिटरको पेटीमा सूर्यमुखी तेलको मूल्य दुई हजार ३२० रुपैयाँबाट बढाएर दुई हजार ९५० रुपैयाँ, सोयाबिन तेलको मूल्य दुई हजार २८० रुपैयाँबाट बढाएर दुई हजार ८०० रुपैयाँ र तोरी तेलको मूल्य दुई हजार २३० रुपैयाँबाट बढाएर दुई हजार ६५० रुपैयाँ कायम गरिएको छ ।

यस वर्ष चिनी प्रतिकिलो ११० रुपैयाँमा उपलब्ध छ । कर्णालीको सिमी प्रतिकिलो २१० रुपैयाँ र मल्का मसुरो दाल प्रतिकिलो १४० रुपैयाँमा बिक्री भइरहेको छ । सिमी र दालमा प्रतिकिलो पाँच रुपैयाँ छुट समावेश गरिएको छ । कम्पनीले चामल तथा दालमा पनि वस्तु र बिक्री एकाइअनुसार छुटको व्यवस्था गरेको छ भने खाने तेलमा प्रतिपेटी ५० रुपैयाँसम्म छुट उपलब्ध गराएको जनाएको छ ।

समयमै खाद्यान्न ढुवानी, पर्याप्त मौज्दात, वितरण केन्द्र विस्तार र वर्षैभरि सञ्चालन हुने सुपथ मूल्य पसलमार्फत चाडपर्वका बेला खाद्यान्न अभाव हुन नदिने तथा उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार