सुर्खेत । सुर्खेतमा आधारित कोपिला भ्याली महिला सहकारी लिमिटेड देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यममा पर्न सफल भएको छ । अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘यूएस एम्बेसी इन्टरप्रेनरशिप स्किल डेभलपमेन्ट प्रोग्राम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत सहकारी उत्कृष्ट २० मा छनोट भएको हो ।

नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय उद्यमशीलता कार्यशालामा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोटबाट उत्कृष्ट २० उद्यम राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि चयन भएका थिए ।
काठमाडौंमा आयोजित तीनदिने आवासीय कार्यक्रममा कोपिला भ्याली महिला सहकारीको प्रतिनिधित्व गर्दै अपेक्षा थापाले सहकारीका उत्पादन, व्यवसायिक मोडल, सामाजिक प्रभाव, बजार सम्भावना र भावी विस्तार योजनाबारे प्रस्तुति दिएकी थिइन् ।
कोपिला भ्याली महिला सहकारीले स्थानीय कपडाबाट हस्तनिर्मित झोला, घरायसी सजावटका सामग्री तथा किचन टेक्सटाइल उत्पादन गर्दै आएको छ। स्थानीय महिलाको सीपलाई उत्पादन, आयआर्जन र बजारसँग जोड्दै आएको सहकारीले आफ्ना उत्पादनलाई संस्थागत तथा खुद्रा बजारमा विस्तार गरिरहेको जनाएको छ ।
सहकारीले स्थानीय महिला समूह, जिम्मेवार ब्रान्ड, व्यावसायिक साझेदार तथा अन्तर्राष्ट्रिय खरिदकर्तासँग सहकार्य गर्दै बजार विस्तार गरिरहेको छ। सहकारीका केही उत्पादन अमेरिकी बजारसम्म समेत पुगिरहेको जनाइएको छ ।
क्यापस्टोन एक्सेलेरेटरमा सहभागी उद्यमीहरूले व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, अन्तर्राष्ट्रिय बजार पहुँच, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल मार्केटिङ, बजार व्यवस्थापन तथा रणनीतिक सञ्चारलगायत विषयमा प्रशिक्षण तथा मेन्टरिङ प्राप्त गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा आयोजित लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्रमा थापाले कोपिला भ्याली महिला सहकारीका उत्पादन, सामाजिक प्रभाव, बजार सम्भावना र अन्तर्राष्ट्रिय बजार विस्तारको योजनाबारे लगानीकर्ता, उद्योगी तथा विज्ञसमक्ष प्रस्तुति दिएकी थिइन् ।
थापाले कार्यक्रममा सिकेका ज्ञान तथा सीप सहकारीका अन्य महिला सदस्यहरूसँग समेत बाँड्ने बताइन्। उनका अनुसार कार्यक्रमले व्यवसाय विस्तार, बजार व्यवस्थापन, लगानी तयारी, प्रविधिको प्रयोग तथा उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा व्यावहारिक ज्ञान दिएको छ।
मैले यहाँ सिकेका ज्ञान र सीप सहकारीका अन्य महिलाहरूसँग पनि बाँड्नेछु। यसबाट उहाँहरूले पनि आफ्नो उत्पादन, व्यवसाय र आम्दानी बढाउन सक्नुहुन्छ, थापाले भनिन् ।
कार्यक्रमअन्तर्गत सहभागी उद्यमीहरूले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मार्फत आफ्ना उत्पादन तथा सेवा प्रदर्शनसमेत गरेका थिए। कोपिला भ्याली महिला सहकारीले पनि आफ्ना हस्तनिर्मित उत्पादन प्रदर्शनीमा राखेको थियो । प्रदर्शनीमार्फत उद्यमीहरूले लगानीकर्ता, उद्योगी, सम्भावित खरिदकर्ता तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष संवाद र नेटवर्किङ गर्ने अवसर पाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चीफ माइक हार्करले नेपाली उद्यमीमा लगानी, नवप्रवर्तन प्रवर्द्धन तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तारले नेपाल,अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउने बताए ।
क्यापस्टोन एक्सेलेरेटर अमेरिका नेपाल व्यावसायिक कूटनीति शृङ्खला अन्तर्गत सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम चरण हो । कार्यक्रमले नेपालका सातै प्रदेशका आकांक्षी तथा प्रारम्भिक चरणका उद्यमीलाई व्यावसायिक योजना, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता तथा लगानी तयारीसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।
क्षेत्रीय कार्यक्रममार्फत २०० भन्दा बढी उद्यमीलाई सहभागी गराइएको थियो। त्यसमध्ये उत्कृष्ट प्रदर्शन गर्ने २० उद्यमीलाई राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरमा सहभागी गराइएको हो ।
कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, सहकारी तथा सामाजिक उद्यमलगायत विभिन्न क्षेत्रमा सक्रिय उद्यमीहरू उत्कृष्ट २० मा छनोट भएका थिए ।
स्थानीय महिलाको सीप र नेपाली हस्तकलालाई बजारसँग जोड्दै आएको कोपिला भ्याली महिला सहकारीको राष्ट्रियस्तरको यो छनोटले कर्णालीमा आधारित महिला उद्यमशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने अवसर थप बलियो बनाएको छ ।








