३६ खेल मध्य २४ खेल कर्णालीमै आयोजना तयारी

सुर्खेत
वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालाको शुक्रबार अनुगमन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलगायत । (तस्बिरः सुरेश आचार्य)

१० औं राष्ट्रिय खेलकुदमा २४ वटा खेल कर्णाली प्रदेशमै आयोजना गरिने भएको छ । कुल ३६ खेल मध्य २४ वटा सुर्खेत लगायत कर्णालीका जिल्लाहरुमा आयोजना गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जनाए ।

वीरेन्द्रनगरमा निर्माणाधिन रङ्गशालाको शुक्रवार अनुगमन पश्चात पत्रकारहरुसँग कुरा गर्दै सदस्य–सचिव घिसिङले कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुदमा बाँकी १२ वटा खेल अन्य प्रदेशमा आयोजना हुने जनाए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेकामा विश्वस्त हुन अनुरोध गरे ।

परिषद्को ११८ औँ बैठकका निर्णयअनुसार आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए ।

उनले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका काम उच्च प्रशंसा समेत गर । ‘पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले यो स्तरमा लगानी गरेको पहिलो र उत्कृष्ट काम हो । यहाँको कामको स्थितिले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएका समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था छैन’, उनले भने ।

सदस्य सचिव घिसिङका अनुसार प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् । उनले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक ६० करोड बजेट छुट्याएको र यसबाट खेलाडीलाई राहत हुनेगरी काम गरिने बताए ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजकको तयारी र योजनाअनुसार आफूहरू समयमै प्रतियोगिता हुनेगरी काममा लागिपरेको जनाए । उनले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का रिक्त पदाधिकारी नियुक्तिका विषयमा आवश्यक तयारी भइरहेको जानकारी दिए ।

कुन–कुन खेल ?

रंगशालामा एथ्लेटिक्स र पुरुष फुटबल, महिला फुटबल, सुर्खेत कभर्डहलमा ब्याडमिन्टन, सुर्खेतको क्रिकेट ग्राउण्ड–२ मा पुरुष क्रिकेट र क्रिकेट ग्राउण्ड १ मा महिला क्रिकेट, इन्डोर/आउटडोर कभर्डहलमा भलिबल महिला र पुरुष, बास्केटबल महिला र पुरुष, ह्याण्डबल महिला र पुरुष तथा तेक्वान्दो खेल खेलाउने योजना छ ।

त्यसैगरी सुर्खेतमा बक्सिङ, उसु, जुडो, शारीरिक सुगठन, पौडी, रग्बी महिला र पुरुष, भारोत्तोलन, कुस्ती तथा खो खो महिला र पुरुषको खेल आयोजना हुने सम्भावना छ ।

यस्तै सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा भने ६ वटा खेल आयोजना गर्ने प्रस्ताव गरिएको छ । जसमा फुलकन्ट्याक्ट कराते र बुद्धिचाल जुम्ला, टेबलटेनिस सल्यान, हक्की महिला र पुरुष हुम्ला, कबड्डी महिला र पुरुष दैलेख, कराते कालिकोट र आईटिएफ तेक्वान्दो रुकुम पश्चिममा आयोजना हुने सम्भावना छ ।

बाँकीखेलमा आर्चरी, फेन्सिङ, गल्फ, जिम्न्यास्टिक, टेनिस, सफ्ट टेनिस, स्क्वास, सुटिङ, साइक्लिङ, ट्रायथलन, सेपाकताक्रो र प्यारग्लाइडिङ अन्यन्त्र आयोजना गर्नुपर्ने हुन्छ ।

स्क्वास र टेनिसको पूर्वाधार ललितपुर र पोखरामा छ भने सुटिङको पूर्वाधार काठमाडौँ नेपालगन्ज र विराटनगरमा छ । गल्फ काठमाडौं पोखरा र धरानमा खेलाउन सकिन्छ । यस्तै आर्चरी र प्याराग्लाइडिङ गण्डकी प्रदेशमा खेलाउन सकिन्छ । यस्तै ट्रायथलन पोखरामा हुँदै आएको छ ।

अन्य समाचार

+ There are no comments

Add yours