२०८३ असार २६ , शुक्रबार

सीमा नाका र मतदानस्थलको सुरक्षा अनुगमन



कञ्चनपुर । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनी क्षेत्रका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ । प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले सीमा क्षेत्र र मतदान केन्द्रहरूको सुरक्षा अवस्थाबारे अनुगमन गरेको हो ।


अनुगमनका क्रममा सीमा नाकामा खटिएका सुरक्षाकर्मीको तयारी, चेकजाँचको अवस्था तथा मतदानस्थल वरपरको सुरक्षा व्यवस्थाबारे जानकारी लिइएको थियो । निर्वाचनलाई निष्पक्ष, शान्त र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रले उच्च सतर्कता अपनाएको जनाइएको छ ।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातिदेखि नै गड्डाचौकीसहित सीमा नाका सिल गरिएको छ । अत्यावश्यक सेवासँग सम्बन्धित आवागमनबाहेक अन्य आवतजावतमा रोक लगाइएको प्रशासनले जनाएको छ । सुरक्षा समितिले निर्वाचन अवधिभर सीमा क्षेत्रमा कडाइका साथ निगरानी राखिने र मतदान सम्पन्न नभएसम्म सुरक्षा व्यवस्थामा कुनै ढिलाइ हुन नदिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार