२०८३ असार २७ , शनिबार

दर्जनौ उम्मेदवारको जमानत जफत



सुर्खेत । कर्णाली प्रदेशमा ९० जना उम्मेदवार जमानत जोगाउन असफल भएका छन् । उम्मेदवारी दिएका कुल १ सय ३८ जनामध्ये ९० जना उम्मेदवारले जमानत जोगाउन सकेका छैनन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै सुर्खेत–२ मा १४ जना, सुर्खेत–१ मा १० जना र सल्यानमा १० जना रहेका छन् । दैलेख–१ मा छ, २ मा सात, जाजरकोटमा आठ, रुकुमपश्चिममा ९ कालीकोटमा ६ जुम्लामा ६ डोल्पामा ६ मुगुमा ४ र हुम्लामा ४ जना गरी कुल ९० जना उम्मेदवार जमानत जोगाउन असफल भएका छन् । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले सदर मतको १० प्रतिशत कटाउन नसक्दा धरौटीबापतको रकम जफत भएको जनाए । कर्णाली प्रदेशमा १२ निर्वाचन क्षेत्रबाट १२ जना विजयी हुनुका साथै रास्वपा, कांग्रेस, एमाले, नेकपाका उम्मेदवारले जमानत जोगाउन मत ल्याएर बचेको र अन्य उम्मेदवार जमानत जोगाउन असफल भएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कालीकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा कालीकोट जिल्लाबाट प्रत्यक्ष चुनाव लडेका दलमध्ये चार जनाले जमानत जोगाउन सफल भएका छन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ जना उम्मेदवारको भने धरौटी जफत भएको छ । दुई स्वतन्त्रसहित आठ दलबाट १० जना चुनावी मैदानमा भए पनि चार दलका उम्मेदवारले मात्र धरौटी जोगाएका छन्  ।
जिल्ला निर्वाचन कार्यालय कालीकोटका निर्वाचन अधिकारी विश्वमङ्गल शर्माले चार दलले धरौटी जोगाएको बताए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले सबैभन्दा बढी मत ११ हजार ७३४ मत प्राप्त गरी विजयी भए । नेकपा (एमाले) का नगिन्द्र शाही नेसनलले १० हजार ६ सय ४७ मत, नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ४ सय ५० र नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा प्रकाण्डले ४ हजार ९ सय ९३ मत प्राप्त जमानत जोगिएको छ  ।

धरौटी जोगाउनका लागि तीन हजार ९ सय ३८ मत ल्याउनु पर्छ  । जमानत जफत हुने उम्मेदवारले मत नै कटाउन सकेनन् । सल्यानमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा ४ जनाले जमानत जोगाएका छन् ।
१० जना उम्मेदवारको धरौटी जफत भएको छ  । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी फिर्ता नहुने कानुनी प्रावधान अनुसार उनीहरूको धरौटी जफत भएको हो  ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार निर्वाचनमा खसेको ८३ हजार १ सय ६७ मतमध्ये ७९ हजार ७ सय ९ मत सदर भएको छ भने तीन हजार ४ सय ५८ मत बदर भएको छ  । सदर मतको १० प्रतिशतका आधारमा उम्मेदवारले कम्तीमा ७ हजार ९ सय ७१ मत प्राप्त गर्नुपर्ने व्यवस्था छ  । प्राप्त मतपरिणाम अनुसार चार जना उम्मेदवारले मात्र उक्त सीमा पार गर्दै आफ्नो धरौटी जोगाउन सफल भएका छन्  ।

नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल २३ हजार १८९ मतसहित विजयी भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २० हजार ९ सय ४ मत, नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५सय ५८ मत र नेकपा (एमाले) का गुलाबजङ्ग शाहले १५ हजार ३ सय ७३ मत प्राप्त गर्दै धरौटी जोगाएका छन्  । नेकपा (माओवादी) का चन्द्रबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिमा नेपाली, नेसनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती, श्रम संस्कृति पार्टीका धनबहादुर बुढामगर, स्वतन्त्र उम्मेदवार युवराज वलीको जमानत जोगिएन  ।

राष्ट्रिय जनमोर्चाकी कमला डाँगी, संयुक्त नागरिक पार्टीका कालिदास विक, नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा क्षेत्री, मङ्गोल नेसनल अर्गनाइजेसनका बालासिंह घर्ती र स्वतन्त्र उम्मेदवार जुद्धबहादुर सिंहले जमानत जोगाउन सकेनन् । उम्मेदवारले धरौटीबापत १० हजार रुपियाँ बुझाएका थिए  ।

 

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार