सुर्खेत। नेपाल बजार बिक्री प्रतिनिधि सङ्घ (नाम्स) सुर्खेतले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन सेवा प्रदान गरेको छ ।

सङ्घले वीरेन्द्रनगर–१२, नेवारीस्थित मानव सेवा आश्रम, सुर्खेतमा एक विशेष कार्यक्रम आयोजना गरी आश्रममा रहेका करिब ७५ जना आश्रितलाई एक छाक भोजन सेवा उपलब्ध गराएको हो ।
नेपाल बजार बिक्री प्रतिनिधि सङ्घ कर्णाली प्रदेश सुर्खेत कमिटीका अध्यक्ष विवेक खड्काका अनुसार स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले भोजन सेवा कार्यक्रम सञ्चालन गरिएको हो।
उनले समाजका असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूप्रति सहयोग र सद्भाव प्रकट गर्न कार्यक्रम आयोजना गरिएको बताए। स्थापना दिवसलाई केवल औपचारिक रूपमा मनाउनेभन्दा पनि समाजसेवामूलक कार्यमार्फत मानवीय भावना अभिव्यक्त गर्ने उद्देश्यले आश्रममा भोजन सेवा गरेका हौँ, अध्यक्ष खड्काले भने।
कार्यक्रममा नेपाल बजार बिक्री प्रतिनिधि सङ्घका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले आश्रममा रहेका व्यक्तिहरूसँग आत्मीयता साटासाट गर्दै भोजन वितरणमा सहयोग गरेका थिए । मानव सेवा आश्रमका प्रतिनिधिहरूले यस्ता सामाजिक तथा मानवीय कार्यले आश्रममा आश्रित व्यक्तिहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् ।
सङ्घले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।








