दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१ नागुका स्थानीयले विकाससम्बन्धी विभिन्न माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधि सभा निर्वाचनमा मतदान बहिष्कार गरेका स्थानीयले आफ्नो क्षेत्रको आधारभूत विकासका विषयमा ध्यानाकर्षण गराउन उक्त ज्ञापनपत्र बुझाएका हुन् । प्रतिनिधि सभा सदस्यमा पराजित भएका सामन्त मङ्गलबार नागु पुगेका थिए । सो अवसरमा स्थानीयवासीले विकास निर्माणका प्राथमिकतामा रहेका योजनाहरू कार्यान्वयन गर्न माग गर्दै संघर्ष समितिमार्फत ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

स्थानीय नरेन्द्रबहादुर बमका अनुसार मतदान बहिष्कार निर्वाचनको विरोध नभई नागु क्षेत्रको विकासका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको हो । ज्ञापनपत्रमा दल्लेख–नागु–सिना सडक खण्ड निर्माण, नागुमा वडा स्थापना, गोफागाड, मल्लोगोफा खोला, भट्टेधार खोला र दह खोला क्षेत्रमा झोलुङ्गे तथा ट्रस पुल निर्माण, नागेश्वर ज्योतिर्लिङ्ग धामको राष्ट्रियकरण, विद्यालयका भौतिक संरचना सुधार तथा स्थायी शिक्षक व्यवस्थाको माग गरिएको छ । त्यस्तै टेलिफोन टावर स्थापना, घोरेटो बाटो निर्माण, आवश्यक स्थानमा रेलिङ जडान, विद्युत् विस्तार, थाम टोलमा खानेपानी योजना सञ्चालन तथा खाद्य डिपो स्थापना गर्नुपर्ने माग पनि उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै रास्वपाका सभापति तथा उम्मेदवार सामन्तले स्थानीयका माग सम्बोधन गर्न सबै राजनीतिक दल तथा निर्वाचित प्रतिनिधिहरू मिलेर पहल गर्नुपर्ने बताए । निर्माणाधीन योजनाहरू समयमै सम्पन्न गर्न पार्टीमार्फत केन्द्र सरकारमा पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए । स्थानीय ठगेन्द्र जुहारीका अनुसार सामन्तले अधुरा तथा रोकिएका परियोजनाहरू पूरा गराउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नागु भ्रमणपछि सामन्तले अपि हिमाल गाउँपालिका–३ र व्यास गाउँपालिका २ का स्थानीयसँग पनि भेटघाट गरी उनीहरूको समस्या तथा माग लिएर काठमाडौं जाने तयारी गरेको बताइएको छ ।








