सुर्खेत । भेरीगंगा नगरपालिका को १८औँ नगरसभा अन्ततः स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि आह्वान गरिएको नगरसभाको बैठक लामो समयसम्म सुरु हुन नसकेपछि बैठक स्थगित गरिएको हो । दिउँसो १ बजे बस्ने भनिएको नगरसभा बैठक ३ बजेसम्म पनि सुरु हुने संकेत नदेखिएपछि नगरसभा सदस्यहरू हलभित्र र बाहिर प्रतीक्षारत अवस्थामा रहेका थिए । केही सदस्यहरू “आज सभा बस्दैन जस्तो छ” भन्दै बाहिरिएका थिए भने कतिपय सदस्यहरू भने सभा सञ्चालन हुने आशामा हल वरिपरि नै बसेका थिए ।

नगरसभा सुरु गर्नका लागि उपप्रमुख, सभासचिव तथा नगरसभा सदस्यहरूबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेन । नगरकार्यपालिकामा छलफल नै नभएका योजनाहरू नगरसभामा प्रस्तुत गर्न खोजिएको भन्दै धेरै सदस्यहरूले आपत्ति जनाएका थिए । कार्यपालिकामा छलफल नभएका विषयहरू नगरसभामा ल्याइएको अवस्थामा सभामा बस्नुको कुनै अर्थ नहुने अडान सदस्यहरूले राखेका थिए ।
उक्त विषयमा सहमति खोज्न विभिन्न चरणमा छलफल भए पनि अन्ततः विवाद समाधान हुन नसकेपछि नगरसभा सञ्चालन हुन सकेन । केही समयपछि सहमति भएको भन्दै सदस्यहरूलाई हलभित्र बोलाइए पनि अन्तिम समयमा पुनः योजनाकै विषयमा मतभेद देखिएपछि बैठक अघि बढ्न सकेन । नगरसभाको बैठक सञ्चालनका लागि बारम्बार आग्रह गरिए पनि अधिकांश सदस्यहरू हलभित्र प्रवेश नगरेपछि नगरप्रमुख तथा सभा अध्यक्ष यज्ञप्रसाद ढकाल समेत सभा हलमा प्रवेश गर्न पाएनन् ।
नगरप्रमुख ढकालले सबै विषयमा सहमति जुटेको जस्तो देखिए पनि अन्तिम समयमा सदस्यहरू फर्किएकाले बैठक सञ्चालन हुन नसकेको बताएका छन् । उनले सहमतिका आधारमा छिट्टै नगरसभा पुनः सञ्चालन गरिने जानकारी दिएका छन् । नगरसभा स्थगित भएसँगै नगरपालिकाका विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी निर्णयहरू पनि केही समयका लागि अन्योलमा परेको छ । स्थानीय तहको महत्वपूर्ण निर्णय गर्ने मञ्च नै स्थगित भएपछि नगरपालिकाको कार्यप्रणाली प्रभावित हुने भन्दै सरोकारवालाहरूले छिटो सहमति जुटाएर नगरसभा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।








