सुर्खेत । बराहताल गाउँपालिका को नवनिर्मित प्रशासनिक भवनमा शुक्रबार वैदिक विधिअनुसार हवन–पूजा कार्यक्रम सम्पन्न गरिएको छ । श्रद्धा, भक्ति र धार्मिक आस्थासहित गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकाको समृद्धि, सुशासन र नागरिकको उन्नति–प्रगतिका लागि कामना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले नयाँ प्रशासनिक भवनबाट प्रदान गरिने सेवा अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले हवन–पूजा आयोजना गरिएको बताए । उनले ईश्वरको कृपा र सबैको साथ–सहयोगले बराहताल गाउँपालिका विकास र समृद्धिको यात्रामा थप दृढतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुनमगर, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसी लगायत गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह अझ व्यवस्थित, पारदर्शी र नागरिकमैत्री हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।








