हुम्ला । जिल्लाको मध्य क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकाले हालसम्म ११४ वटा ऐन–कानून तर्जुमा गरी गाउँसभाबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । हालै सम्पन्न सत्रौँ गाउँसभाले तीन नयाँ कार्यविधि पारित गरेपछि ऐन–कानूनको संख्या बढेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर चन्द का अनुसार नयाँ पारित कार्यविधिमा कृषि विकास जीवनस्तर सुधार सहयोग कार्यविधि २०८२, उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०८२ र कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८२ समावेश छन् । सत्रौँ गाउँसभासम्म कुल १ सय ११ ऐन–कानून पारित भइसकेका थिए ।
लेखा समितिको अर्धवार्षिक प्रतिवेदन अनुगमन, मूल्याङ्कन तथा सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन, गाउँपालिका न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन, र अर्धवार्षिक प्रगति प्रतिवेदन गरेर चारवटा प्रतिवेदनहरु पारित गरेको छ ।
त्यसैगरी, सभा २०८२/०८३ को वार्षिक बजेट र कार्यक्रम संशोधन पनि सर्वसम्मत पारित गरेको छ । सभा गाउँपालिका अध्यक्ष ठनबहादुर रोकाया को अध्यक्षतामा सञ्चालन भएको थियो । उपाध्यक्ष देवकी तिमिल्सीनाले प्रतिवेदनहरू पेश गरेकी थिइन्। सभा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो ।








