बर्दिया । बर्दियाका २७ वटा विद्यालय तीनतारे स्तरमा पुगेका छन् । नेपाल सरकारले २०७४ सालमा लागू गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिअनुसार ती विद्यालयले आवश्यक मापदण्ड पूरा गरेका हुन् । तीमध्ये २१ विद्यालय तीनतारे घोषणा भइसकेका छन् भने ६ विद्यालय घोषणा हुन बाँकी छन् । विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुधार गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यविधि लागू गरिएको हो ।

मापदण्ड पूरा गर्ने विद्यालयलाई तीनतारे स्तरमा वर्गीकरण गरिन्छ । जिल्लामा कार्यविधि कार्यान्वयनका लागि पाँच स्थानीय तहका ३३ विद्यालय छनोट गरिएकोमा २७ विद्यालय तीनतारे र ६ विद्यालय दुईतारे स्तरमा पुगेका छन् । हाल बर्दियामा कुल २७१ विद्यालय रहेका छन् । संघीय कार्यविधिअनुसार गुलरिया, बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकाले स्थानीय कार्यविधि निर्माण गरी लागू गरेका छन् ।
साथै, शौचालय, खानेपानी र सरसफाइ संरचनाको मर्मतसम्भारका लागि कोषको व्यवस्था पनि गरिएको छ । बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूका अनुसार अनुगमन तथा मूल्याङ्कनपछि मापदण्ड पूरा गर्ने विद्यालयलाई तीनतारे घोषणा गरिन्छ ।
सबै विद्यालयलाई तीनतारे स्तरमा पु¥याउने लक्ष्य रहेको उनले बताए । तीनतारे विद्यालयमा सुरक्षित खानेपानी, पर्याप्त शौचालय, फोहोर व्यवस्थापन, साबुनपानीले हात धुने सुविधा, फूलबारी, करेसाबारी र दिवा खाजा व्यवस्थाजस्ता सुविधा अनिवार्य हुन्छन् ।
साथै, महिनावारी स्वच्छता सचेतना, आराम कक्ष र इन्सिनेटरसहितको शौचालयको व्यवस्था पनि गर्नुपर्छ । यस कार्यलाई प्रभावकारी बनाउन वाटरएड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्वास्थ्य केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा ‘वास गेन्स’ परियोजना सञ्चालन गरिएको थियो ।
तीन वर्षदेखि सञ्चालनमा रहेको उक्त परियोजनामार्फत संरचना निर्माणसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थितिमा परियोजनाका उपलब्धि सार्वजनिक गर्दै जिम्मेवारी हस्तान्तरण गरिएको छ ।








