सुर्खेत । सुर्खेतका नौ वटै स्थानीय तहले प्राकृतिक विपद्सँग लड्न स्रोत साझेदारी गर्ने भएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा विपद्सँग लड्न स्रोत साझेदारी गर्ने सहमति भएको हो । मौसमी प्रकोपजन्य विपद्पूर्वको तयारी र विपद्पछिको प्रतिकार्यसँग लड्न उपलब्ध स्रोत, साधन र प्रविधिको साझेदारी गर्ने पालिकाबीच समझदारी भएको हो । जसका लागि अपत्कालिन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२ बनाइएको छ ।

यो कार्यविधिमार्फत जिल्लाका नौ वटै स्थानीय तहमा आपत्कालिन सेवाका क्रममा विपद् प्रतिकार्यका लागि आवश्यक मानवीय, आर्थिक तथा प्राविधिक स्रोत साधानको व्यवस्थापन गरी अन्तर स्थानीय तह आपत्कालिन सेवालाई व्यवस्थित बनाइने छ ।
जिल्ला समन्वय समितिको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा मंगलबार गाउँपालिका तथा नगरपालिका प्रमुखहरूको उपस्थितिमा अन्तरपालिकास्तरीय स्रोत साझेदारी संयन्त्र निर्माण तथा सिकाई आदानप्रदान कार्यशालामार्फत अपत्कालिन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिलाई अन्तिम रूप दिन समिति गठनसमेत गरिएको छ ।
समितिले कार्यविधिको मस्यौदामाथि आवश्यक अध्ययन गरी अन्तरपालिका साझेदारीको मोडालिटी तय गर्नेछ । सुर्खेत जिल्लाभित्र रहेका स्थानीय तहबीच समन्वय, सहकार्य, सहलगानी र एक आपसमा सिकाई आदानप्रदान गर्ने र विपद पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी गराउन जिल्लास्तरमा अन्तरपालिका सञ्जालको आवश्यकता महसुस गरिएको पालिका प्रमुखहरूले बताएका थिए ।
विपद्को समयमा आवश्यक पर्ने उद्दार, राहत तथा पुनर्स्थापना लागि आवश्यक खाद्यान्न, लत्ता कपडा, स्वास्थ्य सेवा, अस्थायी आवास आदि जस्ता अत्यावश्यक सेवा प्रवाहमा अन्तरपालिका सहयोग आदान प्रदानका व्यवहारिक अभ्यास हुँदै आएको छ । यसलाई थप सुढृढ र व्यवस्थित गरी संशाधनमा पनि सहयोग पुर्याउन अन्तरपालिका संयन्त्रको दस्तावेज तयार गरी अघि बढ्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले बताए ।








