जुम्ला । जुम्ला कारागारमा रहेका कैदीवन्दीहरूको स्वास्थ्य अवस्था सुधार गर्न विशेष स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विश्व क्षयरोग दिवसको अवसर पारेर सञ्चालन गरिएको यस शिविरमा ६२ जना कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले जानकारी दिए ।

परीक्षणका क्रममा २१ जनालाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श तथा उपचार प्रदान गरिएको थियो भने ९ जनालाई क्षयरोगको जोखिम देखिएकाले थप परीक्षणका लागि सिफारिस गरिएको छ ।
साथै, १० जना उच्च रक्तचापका बिरामी भेटिएका छन् । शिविरमा सहभागी विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरूले सामान्य स्वास्थ्य परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको सम्भावित जोखिम तथा मानसिक स्वास्थ्य अवस्थाको
पनि मूल्याङ्कन गरेका थिए । विशेषगरी मानसिक स्वास्थ्य परीक्षणमा सकारात्मक सोच विकास, आत्मविश्वास अभिवृद्धि र तनाव व्यवस्थापनका उपायबारे परामर्श दिइएको थियो । परीक्षणका क्रममा सामान्य स्वास्थ्य समस्या देखिएका कैदीवन्दीलाई तत्काल औषधि वितरण गरिएको छ भने जटिल समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको जनाइएको छ ।
कारागारभित्र रहेका नागरिकहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । साथै, सो अवसरमा कैदीवन्दीहरूलाई फलफूल समेत वितरण गरिएको थियो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले यसअघि पुस महिनामा पनि यस्तै स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।








