सुर्खेत । नेपाल पत्रकार महासंघले आफ्नो स्थापना भएको ७१ वर्ष पूरा गरेको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू मनाउदै सुर्खेतमा पनि उत्साहका साथ प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको थियो । पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा निकालिएको प्रभातफेरी नगरका विभिन्न भाग परिक्रमा गर्दै पिपलचौतारामा पुगेर कोणसभामा अन्त्य भएको हो ।
कार्यक्रममा सहभागीहरूले स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको महत्वलाई उजागर गर्दै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार संरक्षणमा सञ्चार क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले पत्रकारितालाई अझ जिम्मेवार, विश्वसनीय र जनमुखी बनाउन आवश्यक रहेको उल्लेख गरे ।
उनले लोकतन्त्रको सुदृढीकरणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने भन्दै सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता आजको आवश्यकता भएको बताए । त्यस्तै, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले कर्णाली प्रदेशमा पत्रकारहरूले भोग्दै आएका चुनौतीहरूबारे प्रकाश पारे ।
दुर्गम भौगोलिक अवस्था, स्रोतसाधनको अभाव र सुरक्षाका समस्या बीच पनि पत्रकारहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेको उल्लेख गर्दै उनले राज्यले पत्रकारहरूको सुरक्षा, पेशागत स्थायित्व र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कार्यवाहक अध्यक्ष सुशील खड्काले स्थानीय तहमा पत्रकारिताको अवस्था, अवसर र चुनौतीबारे चर्चा गरे ।
उनले पत्रकार महासंघले पत्रकारहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्ने र नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्ने काममा निरन्तर लागिरहेको बताए । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजना तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको समन्वयमा सम्पन्न भएको हो ।
स्थापना दिवसले पत्रकारिताको इतिहास, योगदान र आगामी दिशाबारे समीक्षा गर्ने अवसर प्रदान गर्नुका साथै पत्रकारहरूलाई थप जिम्मेवार र एकताबद्ध भएर अघि बढ्न प्रेरित गरेको सहभागीहरूको भनाइ थियो ।








